बुधबार, बैशाख १२, २०८१

जातीय समस्या समाधानका लागि नेवाः जातीय महासंघ गठनको तयारी

काठमाडौं मंसिर १०,
नेवार समाजभित्रको विभिन्न जातीय संगठनहरुको साझा संगठनको रुपमा महासंघ गठन हुने भएको छ । मंगलवार राजधानीमा सम्पन्न नेवाः जातीय संगठनहरुको भेलाले जातीय संगठनहरु लामो समयदेखि विभिन्न समस्याबाट प्रताडित हुँदै आएको र ती समस्याको समाधानको लागि सबै एक ढिक्का हुनुको विकल्प नभएको ठहर सहित  नेवाः जातीय महासंघ गठन गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा  भेला संयोजक तथा नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गीले नेवाः जातीय संगठनको एकता र सहकार्य विषयमा अवधारणा पत्र पेश गदै नेवाः जातीय महासंघ गठनको आवश्यकता औल्याउदै विभिन्न नेवाः गतिविधि र अभियानहरुमा जातीय संगठनले नै बाजा बजाइदिनुपर्ने, सहभागीता जनाइदिनुपर्ने, तर हामी जहिल्यै सहभागीतामै मात्र सिमित भयौं,’ खड्गीले भन्नुभयो । ‘जातीय संगठनलाई नेतृत्व भने कहिल्यै नदिएको बताउनुभयो ।

त्यस्तै अवधारणा पत्रमा जातीय महासंघ गठन गर्दै नेवाः समाजको परम्परागत पेशाको आधुनिकीकरण गर्दै समाजको आर्थिक उन्नतीमा योगदान दिनुका साथै जातीय समाजहरुको भवन बनाउनेसम्मका उद्देश्यहरु प्रस्ताव गरिएको छ ।

त्यस्तै कार्यक्रममा महानगर प्मुख विद्यासुन्दर शाक्यले जातीय संगठनको एकताको विषय निकै सुखद रहेको भन्दै समाज, सम्पदा, संस्कृतिको संरक्षणमा सबै लाग्न सुझाव दिनुभयो । स्थानीय भाषा, कला, संस्कृति, सम्पदाको संरक्षणमा काठमाडौं महानगरपालिकाको सधैं साथ रहने प्रतिवद्धता महानगर प्रमुख शाक्यले जाहेर गर्नुभयो  भने  महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक साथै काठमाडौं महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष न्हुछेँकाजी महर्जनले अहिलेसम्म नेवाः जातीय संगठनलाई नेतृत्व वर्गले प्रयोग मात्रै गर्दै आएको बताउनुभयो ।

यसै भेलाले महासंघ गठनको आवश्यक तयारीको काम अघि बढाउनका लागि मनोज नेवाःको संयोजकत्वमा सात सदस्यीय नेवाः जातीय महासंघ तयारी समिति पनि गठन गर्नुको अलावा  चाडबाडमा नेवाः समाजभित्र एकरुपता ल्याउन सोही तयारी समितिबाट नेपाल पंंचाङ्ग निर्णायक समितिसँग छलफललाई तीव्रता दिने निर्णय पनि भेलाले गरेको छ ।