शुक्रबार, चैत्र १६, २०८०

राजा वीरेन्द्रको निजी आवासगृह आजदेखि सर्वसाधारणको अवलोकनका लागि खुला ,के-के छ श्री सदनमा ?

काठमाडौं मंसिर ६,
नारायणहिटी दरबार भित्र रहेको तत्कालीन जन प्रियराजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । ०५८ मा भएको दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजदरवार हत्याकाण्ड पछि दरवारको बाँकी संरचना सर्वसाधारणको अवलोकनका लागि संग्राहलयको रुपमा खुला गरिएपनि श्री सदन भने बन्द नै रहेको थियो ।
श्रीसदन प्रदर्शनीकक्षको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रदर्शनी कक्षको उद्घाटन गरेसंगै  नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधारणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो ।

यस्तो छ श्री सदनको संरचना :

श्री सदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै डाइडिङ रुम र वारकक्ष छ । दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्य, निराजन र श्रुतिको शयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निराजनले शारीरिक अभ्यास गर्ने कोठा छ । ऐश्वर्यको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भ-याङ उक्लिनासाथ प्यासेजमा पूर्वअधिराजकुमारी श्रुतिले तयार पारेको चित्रकला राखिएको छ । स्व राजा वीरेन्द्र, ऐश्वर्य, श्रुति र निराजनको स्नानागार र सिँगार कोठामा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ । स्व ऐश्वर्यको छुट्टै साहित्यकक्ष पनि छ । श्रुति र निराजनको छुट्टै खेल्ने सामग्रीसहितको कोठा छन् ।

उद्घाटन सत्रको क्रममा मन्त्री भट्टराईले श्रीसदन विभिन्न इतिहास र समाजको झलक तथा मानवजातिको विकासको जानकारी दिन सान्दर्भिक हुने बताउदै सङ्ग्रहालयमा शाहवंशीय शासनको कसरी शुरु र अन्त्य भयो, त्यसको जीवन्त इतिहास नारायणहिटी सङ्ग्रहालयबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उपत्यका लगायत देशैभर कोभिड संक्रमण देखिएसंगै शुरु भएको बन्दाबन्दीका कारण नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि बन्द गरिएको संग्राहालय आइतबारबाटै पुनः खुला गरिँदै छ ।