शनिबार, बैशाख ८, २०८१

सभापति देउवाद्वारा चिकित्सकद्वयको निधनप्रति दुःख व्यक्त

काठमाडौं मंसिर ४,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिरामीको उपचारका क्रममा कोभिड सङ्क्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डा सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा नारायणबहादुर थापाको निधन भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत दुवै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मान सहित श्रद्धाञ्जलि प्रकट गर्दै नेपालको चिकित्सा क्षेत्रमा दुबैको लामो योगदान स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।  साथै परिवारजनप्रति समवेदना व्यक्त गर्दै कोभिड विरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुवै थरीको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पु-याउन सरकारलाई आग्रहसमेत गर्नुभएको छ ।

यसैगरी सभापति देउवाले नोभेम्बर १५ मा हङकङको एक होटलमा भएको आगलागीमा परेर ९ जना नेपालीको निधन भएको घटना प्रति दुःख व्यक्त गर्दै मृतआत्माको चिर शान्तिको कामना गर्दै परिवारजन र हङकङवासी नेपाली समुदायमा समवेदना व्यक्त गर्नुभएको छ ।