शुक्रबार, चैत्र १६, २०८०

कोभिड कहर: बुधवारबाट शुरु हुने छठपूजा घर-घरमै सिमित

[फाइल फोटो]

प्रशासनले उपत्यका स्थित विभिन्न नदी तलाउमा हुने छठपूजाको भिडभाड सहितका गतिविधि गर्न रोक

काठमाडौं मंसिर २,
वर्ष २०७७को तिहार पर्वको समापनसंगै छठ पर्वको रौनक सहित चहलपहल सुरु भएको छ । छठपर्व विधिवत् रुपमा बुधवार देखि शुरु हुँदैछ । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन विहिवार वर्तालु महिलाले आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवा अरुवाइन अर्थात् शुद्ध भोजन गर्ने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ ।

त्यस्तै पर्वको दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेउतालाई अर्पण गर्दै खर्नाविधि अन्र्तगत परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले पनि प्रसादकै रुपमा ग्रहण गर्ने गरिन्छ । पर्वको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र वर्तको चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको विधिवत् समापन गरिन्छ।

छठ पर्वको मुल्य आकर्षण भनेको सूर्यको उपासना सहित अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्दछ । पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा राजधानीको रानीपोखरी, टङकेश्वर, गौरी घाट र शङखमूल लगायतका नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।

तर यसपटक कोभिड संक्रमणको जोखिमका कारण उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जाडोको समयमा कोभिड संक्रमणको जोखिम झन् बढ्ने भन्दै यसवर्ष नदीमा भेला भएर छठ पर्व मनाउन रोक लगाएको छ । भिडभाड हुने खालका गतिविधिमा रोक लगाउने मन्त्रिपरिषद्कै निर्णय अनुरुप प्रशासनले यसअघि देउसी, भैलो जस्ता गतिविधिलाई समेत रोक लगाइएको जनाउदै नदीमा जम्मा भएर छठपर्व मनाउन र कुनै पनि किसिमको भिडभाड गर्न निषेध गरिएको हो ।

प्रशासनले भिडभाड हुने खालका गतिविधिमा रोक लगाएसंगै  राजधानीस्थित विभिन्न नदी तलाउमा हुने छठपूजा घरघरमै सिमिति हुने  भएको  छ । तर  मोफसल अन्र्तगत धार्मिकस्थल जनकपुरधाममा भने  कोभिड कहरकावीच पनि उत्साहका साथ छठ पर्वको लागि आवश्यक सरसामान खरिद देखि यावत अन्य कार्यका लागि चहलपहल निर्वाद चहलपहल शुरु भइसकेको हाम्रा सहकर्मीले जनाएको छ ।