बिहिबार, बैशाख ६, २०८१

आज तिहारको ५औं दिन  भाइटीका पर्व मनाइदै

काठमाडौं मंसिर १ ,
यमपञ्चक अर्थात् तिहारको आज  ५औंदिन   भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । वर्ष २०७७ को भाइटीकाको साइत मंसिर १ गते ११ बजेर ३७ मिनेटको साइतमा उत्तम रहेको जनाएको छ । यद्यपी भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ३७ मिनेटको समय उत्तम भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

भाइटीकाको क्रममा अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ । त्यस्तै टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा रहिआएको छ ।

यसैवीच दिदीबहिनी नहुनेका लागि आजैका दिन वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर समेत खुलाइने भएको छ । ०७२को महाभूकम्पका कारण क्षतिग्रस्त मन्दिर पुन निर्माण भइसकेका कारण आज विहान ५ बजे देखि साँझ ५ बजेसम्म पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ