बिहिबार, चैत्र १५, २०८०

प्रतिकात्मक प्रारुपमा श्री पचली भैरवको जात्रा सञ्चालन गरिने

काठमाडौं असोज २२ / शरण डंगोल 

काठमाडौं उपत्यका लगायत देशैभर बढ्दो कोभिड कहरका कारण उपत्यकामा मनाइने विभिन्न जात्रा पर्व स्थगन हुँदै आएको अवस्थामा वर्ष ०७७ मा मनाइने श्री पचली भैरव जात्राको सवालमा समेत हुँदै आएको अनेकन आशंकाको निवारण भएको छ । आज श्री पचली भैरव गुथियार खलः र जात्रा व्यवस्थापन समितिको संयुक्त रुपमा सम्पन्न भेलाले परापूर्वकालदेखि चल्दै आएको श्री पचली भैरवको जात्रा विगतमा जस्तो तामझामका साथ नभइ परम्परा, संस्कार र विधि व्यवहारको दायरामा प्रतिकात्कम रुपमा सरकारद्दारा जारी स्वास्थ्य मापडन्द अनुरुप मनाउने नितिगत निर्णय गरको छ । श्री पचली भैरवको जात्रा परापूर्वकालदेखि हरेक वर्ष कौलाथ्व पारुदेखि पञ्चमीसम्म विविध सांस्कृतिक गतिविधि सहित जीवन्त रुपमा मनाउँने गरिन्छ ।

जात्रा सञ्चालनको नितिगत निर्णका लागि सम्पन्न छलफलमा पचली भैरव गुथिका गुथियार द्यःसिं महर्जनले यस श्री पचली भैरवको आफ्नो छुट्टै द्यःछेँ (देव घर) नभएकोले हरेक वर्षका गुथियार पाःलाको घर नै द्यःछेँको रुपमा परापूर्वकालदेखि चल्दै आएको हुँदा यो जात्रा नगरी द्यःछेँ परिवर्तन गर्न नसकिने भएकै कारण प्रतिकात्मकरुपमा विधि मात्र सम्पन्न गर्र्र्दै जात्रा सम्पन्न गरिने बताए ।

त्यस्तै श्री पचली भैरव जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण महर्जनले काठमाडौंको तल्लो टोलको पहिचान र राष्ट्रिय गौरवको श्री पचली भैरवको जात्रा भव्य रुपमा मनाइदै आएपनि देशमा देखिएको कोभिड महामारीका कारण यस वर्ष परम्परालाइ निरन्तरता दिदै सरोकारवाला निकायमा जानकारी गराई त्यहाँबाट प्राप्त अनुमति अनुरुप जात्रा सञ्चालन गरिने बताए । न्हय्मु न्हयेत्वाःका गुथियार रामबहादुर डंगोलले आवश्यक सतर्कता सहित जात्रा सञ्चालन गर्न श्री पचली भैरव गुथियार र जात्रा व्यवस्थापन समितिलाई सुझाव दिनु भएको उक्त छलफलमा अन्य सहभागीहरुले पनि आफ्ना सुझाव र भय रहित वातावरणमा जात्रा सम्पन्न गर्न आवश्यक सहयोग गर्ने बताए ।