काठमाडौ असोज २५,
नेपाल पत्रकार महासंघले महासंघ काठमाडौं शाखाका सदस्य तथा काठमाडौंबाट प्रकाशित हुँदै आएको युगव्यथा साप्ताहिकका सम्वाददाता उत्तम प्रसाँई बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै २०७७ असोज १८ गते आइतबार दिउँसो मैतिदेबी स्थित डेराबाट बेपत्ता भएका पत्रकार प्रसाई सोही दिन गजुरीस्थित सिसीटिभी फुटेजमा मोटरसाइकलबाट मुग्लिङतिर गएको देखिएको थियो भने भोलिपल्ट मुग्लिनस्थित मुग्लिन-नारायणगढ खण्डको ३ नम्बर पुल छेउ हेल्मेट, चावी, मोटरसाइकल सडकछेउमै भेटिनुका साथै २० मिटर तल मोबाइल, चेकबुक लगायतका सामग्री सुरक्षित अवस्थामा भेटिएको थियो ।
त्यस्तै विज्ञप्तिमा महासंघले बेपत्ता भएका पत्रकार प्रसाईको यथाशीघ्र खोजी कार्य गर्न तथा घटनाको गहिरो र प्रभावकारी अनुसन्धान गरी सत्य-तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
यसैजीच महासंघ उपत्यका प्रदेश समिति महासचिव श्रीजन झा र काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले पनि विज्ञप्ति जारी गरि पत्रकार प्रसाईँको शीघ्र खोजी गरी वास्तविक स्थिति सहित घटनाको सत्यतथ्य पत्ता लगाई यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ।