बिहिबार, मंसिर ११, २०७७

आवश्यक उपकरण जडानसंगै आगामी १५ दिनभित्र क्लिन फिड पूर्णरुपमा कार्यान्वयन हुने

काठमाडौं कात्तिक १५,

बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित [क्लिन फिड] कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् ।

विज्ञापन [नियमन गर्ने] ऐन, २०७६ ले यही कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने व्यवस्था गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ । ऐनले नै तयारीका लागि एक वर्षको समय उपलब्ध गराउँदा पनि तयारी नगरेपछि कात्तिक ७ यता विज्ञापनसहितका विदेशी च्यानलको प्रसारण वितरकहरूले नै बन्द गरेका थिए ।

सरकारले क्लिन फिड कार्यान्वयन गर्न पर्याप्त समय दिए पनि उपकरण आयातको अनुमति र त्यसको जडानमा भएको ढिलाइका कारण कतिपय च्यानलमा पूर्ण रूपमा क्लिन फिड लागू हुन नसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष धु्रव शर्माले जानकारी दिनुुभयो । ‘‘अहिले केही मुख्य च्यानल क्लिन फिडका लागि आवश्यक उपकरण जडानको क्रममा रहेकाले १५ दिनभित्र यसको पूर्ण कार्यान्वयन हुने अवस्था देखिन्छ’’, उहाँले भन्नुभयो । क्लिन फिडका कारण खासगरी निःशुल्क प्रसारण गर्न सकिने [फ्रि टु एयर] केही भारतीय समाचार तथा मनोरञ्जनात्मक च्यानल पूर्ण बन्द छन् ।

नेपालमा डाउनलिङ्क अनुमति लिएर प्रसारण गर्न पाइने केही सशुल्क च्यानल भने उपकरण जडानको क्रममा रहेकाले कानुन अनुसार अहिले प्रसारण नभएको अवस्थामा छन् । डिस्कभरी, स्टार र बीबीसी लगायत केही च्यानल क्लिन फिडका लागि आवश्यक उपकरण जडानको क्रममा रहेकाले अर्को दुई हप्ताभित्र मात्र पूर्ण कार्यान्वयनमा आउन सक्ने डिसहोमका प्रबन्धनिर्देशक सुदीप आचार्यले बताउनुभयो । अहिले सोनी गु्रप, जी नेटवर्क, इन्डिया कास्ट अन्तर्गतका प्रमुख टेलिभिजन च्यानलमा क्लिन फिड कार्यान्वयनमा आइसकेको छ ।

ग्राहक शुल्क बढाउन नपाइने : 
क्लिन फिड कार्यान्वयन गर्दा ग्राहकलाई थप मूल्य बढाउन नपाइने सरकारले स्पष्ट पारेको छ । क्लिन फिडका कारण बढ्न सक्ने सञ्चालन खर्च धान्न टेलिभिजन वितरकले ग्राहकसँग शुल्क बढाउनुको विकल्प नरहेको बताइरहँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो जनाएको हो । गोरखापत्रसँग कुरा गर्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले भन्नुभयो, ‘‘उपभोक्ताले वितरकसँग सम्झौता गरेर शुल्क तिर्ने हो, अहिलेको मूल्य बढ्दैन, बढाउन पाइँदैन ।

नेपालमा डाउनलिङ्क अनुमति लिएर विदेशी च्यानल प्रसारण गरिरहेका वितरकहरूले भने क्लिन फिड कार्यान्वयन गर्दा दुवैतर्फ खर्च बढ्ने हुँदा भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउन सक्ने बताइरहेका छन् । क्लिन फिडका कारण अहिले कतिपय च्यानल प्रसारण बन्द भएको अवस्थामा शुल्क बढाउने तयारी नभए पनि भविष्यमा बढ्न सक्ने खर्चका कारण ग्राहक शुल्क बढाउनुको विकल्प नहुने महासङ्घका अध्यक्ष शर्माको भनाइ छ ।

‘नेपालका लागि मात्र फिड दिँदा विदेशी प्रसारकको खर्च एकदमै बढ्ने हुँदा हाम्रो खरिद मूल्य बढ्ने देखिन्छ’’, उहाँले थप्नुभयो, ‘‘अहिले नै यसमा तयारी गरेनौँ भने भविष्यमा त्यसको भार ग्राहकमा पर्ने देखिन्छ ।’’ यसका लागि महासङ्घले सरकारलाई नै न्यूनतम च्यानलसहितको आधारभूत प्याकेज र त्यसपछि ग्राहकको छनोटको आधारमा च्यानल लिन सक्ने गरी शुल्क निर्धारण गर्ने विकल्पसहितको सुझाव दिएको उहाँले बताउनुभयो ।

अनुगमनको काम तीव्र:
ऐनमा भएको व्यवस्था अनुसार विदेशी च्यानलहरू विज्ञापनरहित भए नभएको अनुगमनको काम तीव्र पारिएको सचिव बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले गठन गरेको अनुगमन संयन्त्रमार्फत सरकारले यसको अनुगमन गरिरहेको छ । सरकारले यसअघि कात्तिक ६ गते ऐनमा भएको व्यवस्था अनुसार क्लिन फिड कार्यान्वयन गराउन सबै टेलिभिजन वितरक तथा प्रसारकलाई औपचारिक जानकारी गराइसकेको थियो ।

क्लिन फिड प्रसारण गर्न नसकेका कतिपय विदेशी च्यानल अहिले बन्द अवस्थामा नै छन् । क्लिन फिड भएका च्यानल मात्र प्रसारण गर्दा केही समय नेपाली उपभोक्ताले हेर्दै आएका धेरै विदेशी च्यानलको प्रसारण प्रभावित भएको थियो । क्लिन फिडका कारण नेपालमा प्रसारण गर्न नसक्ने जनाएका करिब ४० वटा विदेशी च्यानल भने बन्द हुनसक्ने वितरकहरूले  जनाएको खवर आजको गोरखापत्र दैनिकमा प्रकाशित रहेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930