बिहिबार, बैशाख ६, २०८१

व्यक्ति अपहरण गरि फिरौती रकम माग गर्ने अभियुक्तत्रय पक्राउ

काभ्रेपलाञ्चोक भाद्र २६ ,
प्रहरीले अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा प्रहरीले ३ जनालाई धुलिखेल नगरपालिका स्थित अठ्ठाईस किलोबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका तिनघरे घर भई हाल धुलिखेल नगरपालिका अठ्ठाईस किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका ४ का २१ वर्षीया उमा परियार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तत्रयको निर्देशनमा पाँचखाल नगरपालिका देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई बुधबार दिउँसो अठ्ठाईस किलोबाट अपहरण गरी बन्धक बनाई ५० हजार रुपैयाँ माग गरेको भन्ने सूचनाको अनुसन्धानको क्रममा प्रहरीले अभियुक्तत्रयलाइ पक्राउ गर्नुको अलावा अपहरित व्यक्ति राजकुमारलाई सकुशल उद्दार गरेको जनाएको छ ।

त्यस्तै प्रहरीले  प्रारम्भिक अनुसन्धानको क्रममा सबिनाले पीडितलाई फोन सम्पर्क गरी भेटघाट गर्न बोलाएको, सबिना र उमाले धुलिखेल नगरपालिका ४ स्थित अठ्ठाईस किलोमा भेट गरी सबिनाले जंगलतर्फ लिई गएको, जंगलको एकान्त स्थानमा पुगी कुराकानी गरी बसीरहेको अवस्थामा आकाश लगायत अन्य व्यक्तिहरुले पूर्व योजना अनुसार राज कुमारलाई नियन्त्रणमा लिई बन्धक बनाई ५० हजार रुपैयाँ फिरौती माग गरेको खुल्न आएको जनाएको छ ।

त्यस्तै उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।