शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि [फोटो फिचर]

काठमाडौ भाद्र ३ ,

सोमवार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा १०१ वर्षका उमेरमा देहत्याग गर्नु भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि दिनुभएको थियो ।

विसं २०६० मा राष्ट्रकवि उपाधिबाट विभुषित घिमिरेलाइ विसं २०७४ माघ २६ गते नेपाली सेनाले मानार्थ सहायक रथीको सम्मान समेतबाट सम्मानीत गरिएअनुरुप उहाँको अन्त्येष्टिको क्रममा नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गरिएको थियो ।

यसअघि घिमिरे निवासमा दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

पशुपति आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।