बिहिबार, बैशाख १३, २०८१

जारी निषेधाज्ञा संगै सुनसान काठमाडौं उपत्यका

काठमाडौ भाद्र ४,
काठमाडौं उपत्यकामा दिनानुदिन बढ्दो कोभिड संक्रमितको जोखिमसंगै गएराती देखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाउदै निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम गए राति १२ बजेदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी प्रस्तुत आदेश जारी गरिएको हो ।

जारी आदेश मुताविक अत्यावश्यक वाहेक जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न रोक लगाईएको छ । र औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन निषेध गरिएको छ । त्यस्तै गरि कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेलाहुन भिडभाड गर्न, सभा जुलुस गर्नसमेत निषेध गरिएको छ । परम्परागत र दैनिक रुपमा भइ आएका र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, व्यूटी पार्लर, स्पा, स्वीममिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न रोक लगाईएको छ ।
त्यस्तै कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० सम्म र बेलुका ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्न पाउने जारी आदेशमा उल्लेख गरिएको छ।

यसैवीच जारी आदेश अनुरुप काठमाडौ उपत्यकामा सडकमा कुनै चहलपहल छैन भने मानिसहरु घरबाट बाहिर समेत निस्किएका छैनन्। चोकचोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। त्यस्तै ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ। कतिपठ ठाउँमा भने स्थानीय प्रशासनले नै बिहान सात बजेसम्म किराना पसल खोल्न दिएको छ।  त्यस्तै शहरका भित्री भागमा भने आदेशका वर्खिलाप कतिपय क्षेत्रमा स्थानीय वजार खुलेको पाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।