शनिबार, बैशाख ८, २०८१

‘ईश्वर दाहिना भएपछि’ सधै कोइरालाको रजगज

काठमाडौ भाद्र १०,
पटक–पटक राजनीतिक नियुक्ति खाएका र पदमा हुँदा अनियमिततामा मुछिएका प्राडा उपेन्द्र कोइरालालाई सरकारले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी कोइरालालाई बैंकको अध्यक्ष बनाउने योजनाअनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै सञ्चालकमा नियुक्त गरेका हुन् ।

कोइरालालाई सञ्चालकमा मनोनीत गरिएको पत्र अर्थ मन्त्रालयले सोमबार नै बैंकमा पठाइसकेको छ । स्रोतका अनुसार बुधबार बस्ने बैंक सञ्चालक समितिको बैठकबाट उनलाई अध्यक्ष चयन गर्ने तयारी छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बुधबार सञ्चालक समितिको बैठक डाकिएको र बैठकले अध्यक्ष चयन गर्ने बताए ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया० र कम्पनीको प्रबन्धपत्र नियमावलीमा सञ्चालक समितिको बैठकले सदस्यमध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था छ । हाल सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, चार्टर एकाउन्टेन्ट जनककुमार बराल, प्राडा माधवप्रसाद दाहाल, प्राडा राजनबहादुर पौडेल र रोमिला ढकाल उप्रेती छन् । बैंकका अध्यक्ष निर्मलहरि अधिकारी राजस्व बोर्डको सदस्य नियुक्त भएपछि सञ्चालक तथा अध्यक्ष पद रिक्त थियो ।

सत्ता र सम्धीको बलमा कोइरालाले यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति, नेपाल आयल निगमको महाप्रबन्धक, उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष, नेपाल खाद्य संस्थानको महाप्रबन्धक, त्रिभुवन विश्वविद्यालय छापाखाना सञ्चालक समितिको अध्यक्ष, महेन्द्र मोरङ क्याम्पस विराटनगरको प्रमुखको नियुक्ति खाइसकेका छन् । तत्कालीन एमाले र अहिलेको नेकपाभित्र उनी एउटा नियुक्ति सकिनासाथ अर्को पड्काउन सफल ‘भाग्यमानी’का रूपमा चिनिन्छन् ।

गत वर्षको भदौमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिको कार्यकाल सकिएपछि उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति खान धेरै ‘लबिङ’ गरेका थिए । तर, सफल भएनन् । तर, ‘ईश्वर दाहिना भएपछि’ वाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष खाने लगभग पक्का भएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय उपप्रधानमन्त्री पोखरेलले कोइरालालाई जुनसुकै पदमा भए पनि नियुक्ति दिन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका थिए । कोइरालाको बायोडाटा अर्थ मन्त्रालयमा पुगेको पनि लामो समय भइसकेको थियो । ‘उहाँको बायोडाटा मन्त्रालयमा आएको धेरै भइसकेको थियो, यसअघि रिक्त पदहरूमा नियुक्ति दिन प्रयास गरिएको भए पनि मिलेको थिएन,’ स्रोतले भन्यो, ‘अहिले वाणिज्य बैंकको अध्यक्ष पद खाली भयो, यसमा उहाँको पनि इच्छा देखियो, अध्यक्ष बनाउने गरी उहाँलाई सञ्चालकमा नियुक्ति दिइएको हो ।’

बैंक सञ्चालक समितिको बुधबारको बैठकले कोइरालालाई अध्यक्षमा मनोनयन गर्ने एक सञ्चालकले बताए । ‘वाणिज्य बैंकको अध्यक्ष कसलाई बनाउने भन्ने कुरा अर्थ मन्त्रालयको हातमा छ, अहिले पनि अध्यक्षको रिक्त पद पूर्तिकै लागि उहाँलाई सञ्चालकमा नियुक्ति गरिएको हो,’ ती सञ्चालकले भने, ‘अर्थ मन्त्रालयले जुन हिसाबले उहाँलाई नियुक्ति गरेर पठाएको हो, भोलिको बैठकले त्यहीअनुसारको निर्णय गरेर उहाँलाई अध्यक्ष बनाउनेछ ।’

यसअघि पनि कोइरालाले त्रिविको उपकुलपति बन्न पटक–पटक निकै दौडधुप गरेका थिए । झलनाथ खनाल प्रधानमन्त्री र पार्टी अध्यक्ष रहेका वेला त उनलाई उपकुलपति बनाउन तत्कालीन एमालेका महासचिव पोखरेलको पहलमा पार्टीको उपल्लो तहमा छलफल र अनौपचारिक निर्णयसमेत भइसकेको थियो । तर, पार्टीभित्रै त्यसको विरोध भएपछि प्राडा हिराबहादुर महर्जनलाई उपकुलपति नियुक्त गरिएको थियो ।

कोइरालाले कम्युनिस्टसँग मात्रै होइन, कांग्रेस र राजाका पालामा समेत नियुक्ति खाने बहुआयामिक सम्बन्ध बनाएका छन् । तत्कालीन दरबारबाट नियुक्त त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको मन जितेर ०६२ मा त्रिविमै नियुक्ति खाए । त्रिवि छापाखाना सञ्चालक समितिको अध्यक्ष बने । उनले त्यहाँ दुई कार्यकाल अध्यक्ष खाए ।

०५१ मा एमाले नेतृत्वको पहिलो सरकारका वेला कोइरालाले नेपाल खाद्य संस्थानको महाप्रबन्धकको नियुक्त पाएका थिए । त्यसपछि पार्टी र सम्धी ईश्वर पोखरेल सत्तामा हुँदा नियुक्ति हात पार्न सफल भए । पोखरेल आपूर्तिमन्त्री भएका वेला नेपाल आयल निगमको महाप्रबन्धक बने ।

आयल निगमको कार्यकाल सकिएपछि कोइरालाले उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षको नियुक्ति हात पारे । परिषद्मा अनियमिततामा मुछिएका उनले लगत्तै विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष बन्न दौडधुप गरेका थिए, तर सफल हुन सकेनन् । केही समयको विश्रामपछि भने मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पड्काएको खवर आजको नयाँ पत्रिकामा प्रकाशित रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।