बुधबार, बैशाख १२, २०८१

प्रेस काउन्सिल नेपालद्वारा अतिरञ्जित, सामग्री प्रसारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्न माग

काठमाडौं असार २६ , प्रेस काउन्सिल नेपालले भारतीय प्रेस काउन्सिलसँग भारतका केही सञ्चारमाध्यममा नेपाल र नेपालको सरकार प्रमुखका सम्बन्धमा अतिरञ्जित, अपुष्ट र चरित्र हत्या केन्द्रित सामग्री प्रसारण भइरहेकाले कारबाहीका लागि आग्रह गरेको छ । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भारतीय काउन्सिलका अध्यक्ष न्यायाधीश चन्द्रमौलीकुमार प्रसादलाई आज पत्र पठाई पत्रकार आचारसंहिताको उलङ्घन हुने प्रकारका त्यस्ता प्रसारणबारे आवश्यक कारबाहीका लागि आग्रह गर्नुभएको हो ।

पत्रमा भारतीय च्यानल ‘जी न्यूज’ र केही च्यानलले त्यस्ता कथासहितको भिडियो सामग्रीलाई प्रधानमन्त्री केपी ओलीलाई नेपालका लागि चीनका राजदूत हाउ यान्छीसँग अवाञ्छितरुपमा जोडेर सामाजिक सञ्जालमा उडाउने विषय बनाएको उल्लेख गर्दै नेपाल प्रेस काउन्सिलले यस प्रकारको सामग्रीले नेपालको स्वाधीनता र स्वाभिमानका आघात पुग्ने जनाउदै दुवै देशका आमसञ्चारमाध्यम आपसी विवादका कुनै पक्ष देखापरेमा समाधानको उपाय खोजीको माध्यम बन्नुपर्नेमा भारतीय टेलिभिजनले नेपालको सार्वभौमसत्ता र स्वाधीनताविरुद्ध अनेकन नाटक सञ्चालन गरिहेको जनाइएको छ ।

पत्रमा नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नक्शामा समेट्ने ऐतिहासिक निर्णय गरेकामा पत्रकारिताका नाममा पूर्वाग्रही, बनावटी र हानिकारक कथायुक्त लाञ्छित सूचनाका विषयमा गम्भीर सरोकार राख्न भनिएको छ । साथै प्रस्तुत प्रकरणकै कारण नेपालमा ‘दूरदर्शन’बाहेक सबै भारतीय च्यानलको प्रसारण रोक्का गरिएको जानकारी गराईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।