शुक्रबार, चैत्र १६, २०८०

नेपाल प्रहरीलाई ‘लिडार स्पिड गन’

काठमाडौं साउन ५ ,

 यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन प्रदान गरेको छ । प्रहरी मुख्यालयमा आज आयोजित एक कार्यक्रमकावीच प्रहरी महानिरीक्षक शैलेश थापालाई यातायात व्यवस्था विभागका महानिर्देशक ई। गोगन बहादुर हमालले ८४ लाख रुपैयाँ मूल्य बराबरका उक्त गन हस्तान्तरण गर्नुभएको हो ।
गन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गन हस्तान्तरणका लागि यातायात व्यवस्था विभागप्रति आभार व्यक्त गर्नुभयो । पछिल्लो समय प्रहरीले तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड, राडर गन, सिसिटिभी जस्ता प्रविधि अपनाईरहेको सन्दर्भमा उच्च प्रविधिको गन थप हुँदा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई अझ सघाउ पुग्ने विश्वास समेत त्यस अवसरमा उहाँले व्यक्त गर्नुभयो ।

त्यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक ई.हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गर्दै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागीपरेको बताउनुभयो । साथै उहाँले सवारी साधनको तीव्र गतिको कारण राज्यलाई ठूलो धनजनको क्षति भएको र सार्वजनिक सवारी साधनमा समेत अपराधजन्य घटना घटिरहेको अवस्थामा यसको न्यूनीकरणको लागि लिडार स्पिड गनको महत्व रहेको बताउँनुभयो ।

कार्यक्रममा प्रहरीले राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्णले लिडार स्पिड गनबारे प्रस्तुतीकरण गर्दै सडकमा गुड्ने सवारीको गति मापन, सवारी साधन र सवारी चालक पहिचान तथा प्रमाण संकलनका लागि उक्त गन प्रयोग हुने बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।