बिहिबार, बैशाख ६, २०८१

काठमाडौं महानगरद्दारा १६ अर्ब ४२ करोड ७३ लाखको अनुमानित बजेट सार्वजनिक

काठमाडौं असार १०, काठमाडौ महानगरपालिकाले आर्थिक वर्ष २०७७ /७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट आज सार्वजनिक गरेको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आज आयोजित नगरसभाको ७ औ अधिवेशनमा सो अुनमानित बजेट सार्वजनिक गर्नु भएको हो । त्यस्तै सार्वजनिक बजेटको विषयमा जानकारी दिदै उहाँले यसपटक कूल बजेटको ५१ दशमलव ३४ प्रतिशत बजेट पूर्वाधार विकास क्षेत्रका लागि अर्थात रु ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार को बजेट विनियोजन गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै सामाजिक विकासमा रु २ अर्ब ४९ करोड ९८ लाख कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु १ अर्ब ७८ करोड २७ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख तथा आर्थिक विकास क्षेत्रका लागि रु १७ करोड २३ लाख विनियोजन गरेको छ । सशर्त अनुदान अन्तर्गत रु २ अर्ब ५७ करोड ५१ लाख पाँच हजार विनियोजन गरेको जानकारी दिनु भयो ।

काठमाडौं महानगरले सार्वजनिकगरेको बजेट अन्र्तगत आन्तरिक स्रोतबाट रु छ अर्ब ७६ करोड ६५ लाख, व्यवसाय करबाट रु ४० करोड, विज्ञापन करबाट रु छ करोड र शुल्क आयबाट रु एक अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको समेत उपप्रमुख खड्गीले बताउनुभयो । त्यस्तै कोभिड–१९ को प्रभावहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमका लागि बजेट विनियोजन जानकारी दिदै करदाताबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पूरै छुटको समेत घोषणा गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा १० प्रतिशत छुट संगै कोभिड प्रताडितका कारण एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता माग गर्न आएमा वार्षिक बहाल करमा १० प्रतिशत छुट गर्ने घोषणा समेत गरिएको छ । त्यसैगरी  व्यवसाय कर अन्र्तगत होटल, पर्यटन तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यवसायीले तिर्ने व्यवसाय करमा ५० प्रतिशत र अन्य सबै व्यवसायीले तिर्ने व्यवसाय करमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

साथै  महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा सम्वद्र्धन र पूर्वाधार विकासलाई महत्व दिनुको अलावा गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको जनाएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।