बिहिबार, चैत्र १५, २०८०

साना तथा मझौला व्यवसायीको माग सम्बोधन नभए देशभरका होटलहरु बन्द गर्ने चेतावनी

काठमाडौं जेठ २१ सरकारले ल्याएको बजेटले आफ्ना समस्या सम्बोधन नगरेको भन्दै साना तथा मझौला होटल व्यवसायीहरुले देशभरका होटल बन्द गर्ने चेतावनी दिएका छन् ।  कोभिड १९ को संक्रमणबाट बच्न लागु गरिएको लकडाउनका कारण विगत करिब तीन महिनादेखि बन्द रहेका व्यापार व्यवसाय र तिनमा परेको प्रत्यक्ष असरका कारण थला परेका व्यवासायीको सम्बोधन हुने गरी सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने आशा गरे पनि सरकारका तर्फबाट त्यसखालको कुनै पनि योजना नल्याइएकाले अझै पनि सरकारलाई आफ्ना समस्या बुझिदिन र ती समस्याको समाधानका लागि सम्बोधन गरिदिन सरकार समक्ष आग्रह गरेको होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमति प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताउनुभयो ।

सोमबार र मंगलबार बसेको प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका अध्यक्ष तथा काठमाडौँमा रहेका १० वटा इकाइसंघका अध्यक्ष सहितको संयुक्त बैठकले उक्त निर्णय गरेको अध्यक्ष उप्रेतीले जानकारी दिनु भयो ।

त्यसैगरी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संघका महासचिव दामोदर नेपालले विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण सरकारले लकडाउन लागू गरेको र त्यसका कारण सम्पूर्ण रुपमा बन्द रहेका होटल तथा पर्यटन व्यवसाय अब उठ्नै नसक्ने गरी थला परेका छन् भने लकडाउन खुलेपछि पनि होटल तथा पर्यटन व्यवसाय यथा अवस्थामा सुचारु हुन कम्तिमा पनि एक वर्ष लाग्ने निश्चित प्रायः छ । बन्दका कारण एकातर्फ व्यापार पूर्ण रुपमा ठप्प छ भने अर्कोतर्फ घरभाडा तिर्न नसक्दा घरधनीले आफ्नो व्यवसायमा ताल्चा लगाइदिने धम्की दिने क्रम शुरु भएसंगै यस क्षेत्रका व्यवसायी पलायन हुने संभावना बडेको बताउनुभयो ।

साथै उहाँले व्यवसायीलाई राहत महशुस हुने खालको योजना सरकारले बजेट मार्फत ल्याउनु पर्थ्यो जसका लागि हामीले बजेट आउनुभन्दा अगावै हाम्रो मातहतका संघ मार्फत १३ वटै जिल्लाबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई र प्रदेश कमिटीले मुख्यमन्त्रीको कार्यालयमा आफ्ना समस्याहरु सहित राहत सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ९ बुँदे ज्ञापन पत्र बुझाउदा पनि आफ्ना माग सम्बोधन नभएको बताए ।

यद्यपी माग सम्बोधनका लागि पर्यटन मन्त्रालय मार्फत पहल गर्ने अन्तिम प्रयास जारी रहेको बताउदै यसवीचमा पनि कुनै सम्बोधन नभए ७७ वटै जिल्लामा रहेका होटल तथा पर्यटन व्यवसाय पूर्ण रुपमा बन्द गरी सरकारलाई साँचो बुझाउने सम्मको निर्णय भएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।