शुक्रबार, बैशाख ७, २०८१

पास बिना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्ने ३ जना सवारीचालक पक्राउ

काठमाडौं असार ७ ,  महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले सवारी पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्ने तथा तोकिए भन्दा बढी भाडा लिई यात्रु ओसार पसार गरेको अभियोगमा तीन जना सवारी चालकहरूलाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४५८० नम्बरको हाईस गाडीका चालक २६ वर्षीय राहुल डबगर, झापाबाट काठमाडौं आउँदै गरेको ना.५ ख ५८३४ नम्बरको यात्रुवाहक बसका चालक ४० वर्षीय राकेश शाक्य र नेपालगंजबाट काठमाडौतर्फ आएको ना.७ ख ७३९५ नम्बरको यात्रुवाहक बसका चालक ३४ वर्षीय रुद्र बहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेको सवारी चालकहरुलाई एक जिल्लाबाट अर्को जिल्ला जान सम्बन्धित निकायबाट जारी गरेको पास तथा निजहरुको सवारी गाडीमा सवार अन्य व्यक्तिहरुको कोभिड १९को पिसिआर रिपोर्ट माग्दा कागजात नभएकोले ३ वटै सवारी साधनको चालकलाइ पक्राउ गरेको जनाएको छ ।

त्यस्तै सवारी चालक डबगरले प्रति यात्रु २ हजार भाडा लिई ७ जना यात्रीबाट १४ हजार रकम चालक शाक्यले १९ जना यात्रु बोकी आएकोमा प्रति यात्रु २ हजारको दरले ३८ हजार लिएको तथा खत्रीले १५ जना यात्रु बोकी आएकोमा प्रति यात्रु २ हजारको दरले ३० हजार भाडा लिई यात्रु ओसार पसार गरेको समेत प्रहरीले जनाएको छ ।

सवारी चालक पक्राउ परेसंगै सवारी साधनमा सवार ४२ जना यात्रुहरूलाई कीर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनको लागि पठाउनुका साथै ३ वटै सवारी साधनको चालकहरूलाई सवारी साधन, बरामद रकम सहित संक्रमण रोग ऐन, २०२० अन्तर्गत आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।