बिहिबार, बैशाख १३, २०८१

काँग्रेसले २ गते स्वदेश र विदेशबाट एकसाथ सरकारको ध्यानाकर्षण गराउने

सरकार महामारीको समयमा पनि अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुब्नुले वर्तमान सरकार असक्षम र गैर जिम्मेवार बन्दै पूर्ण असफल भएको काँग्रेसको जिकिर

काठमाडौं जेठ २९, नेपाली काँग्रेसले आगामी असार २ गते मुलुकमा कोभिड संक्रमणका कारण बनेको जटिल परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउने भएको छ । काँग्रेस मुख्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार काँग्रेसले सामाजिक दूरी कायम गर्दै स्वदेश र विदेशबाट एकसाथ सरकारको ध्यानाकर्षण गराउने उल्लेख गरिएको छ।  त्यस्तै विज्ञप्तिमा जोखिम नियन्त्रणको लागि भन्दै जारी गरेको लक डाउनको ८० औं दिन पुग्दा समेत कोभिड संक्रमण विरुद्धको संघर्षका क्रममा सरकार अझैपनि उदासिन रहेको र सरकारको यस्तै रवैया कायमनै रहने हो भने मुलुकमा महामारीको जोखिम अप्रत्याशित रुपमा अझै बढ्दै जाने सम्भावना देखिएको उल्लेख गरिएको छ ।

त्यस्तै सरकारले जनशक्ति र स्वास्थ्य सामाग्रीको अपर्याप्ता देखाएर पिसिआर परिक्षण सुस्त गतिमा गरिनुु, मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीतका क्वारेन्टाइनहरु निर्माण गरी क्वारेन्टाइन नै संक्रमण बढाउने कारखाना बन्दै जानु, विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने आम श्रमिकहरु खानाको अभावमा भोकका कारण मृत्युवरण गर्नबाध्य पारिनु जस्ता यथार्थता प्रति सरकार उदासिन र असंवेदनशील रहनु, भारत लगायत विश्वका अन्य देशहरुमा अलपत्र परी आफ्नो मातृभूमिमा फर्कन चाहेका नागरिकहरुलाई उचित व्यवस्थापनका साथ स्वदेश फर्कने वातावरण बनाउन नसक्नु, दिनानुदिन धरासायी बन्दै गइरहेको कृषि, पर्यटन र उद्योग व्यवसायलाई पुर्नउत्थानका लागि राहतको कुनै कार्यक्रम नल्याउनु, रोजगारी सिर्जनाको लागि खासै योजना, नीति तथा कार्यक्रम नल्याइनु, श्रमिक, वेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, एकल महिला र गर्भवतीहरुलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसक्नु, सरकार अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुब्नुले वर्तमान सरकार असक्षम र गैर जिम्मेवार बन्दै पूर्ण असफल भएको जिकिर समेत विज्ञप्तिमा गरिएको छ ।

साथै कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्न, अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, सरकारले तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा कांग्रेस संघीय संसद, संसदीय दलका तर्फबाट प्रधानमन्त्रीसमक्ष, कांग्रेस प्रदेशसभा संसदीय दलका तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीसमक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइने कांग्रेसले जनाएको छ ।

त्यस्तै कांग्रेसका ७७ ओटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत् र विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइने कार्यक्रम तय भएको बताईएकेछ ।

यसअघि गत जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय अनुरुप पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमन्डलले प्रधानमन्त्रीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।   कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ २०७७ असार २ गते सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।