शनिबार, बैशाख ८, २०८१

काँग्रेसले भन्यो- नेपालको स्वाधीनता माथिको ठाडो हस्तक्षेप किमार्थ अस्वीकार्य

काठमाडौ बैशाख २९,  नेपाली काँग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपाली मूमि अतिक्रमित प्रकरणमा सरकारलाई उच्च स्तरीय कूटनैतिक प्रक्रियामार्फत समाधान गर्नका लागि पहलकदमी लिन आग्रह गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गर्नु भएको  ३ बुँदे  विज्ञप्तिमा सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मूल आधार भएको उल्लेख गर्दै यस्तो आग्रह गर्नु भएको हो ।

त्यस्तै विज्ञप्तिमा नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण, नेपालको स्वाधीनता माथिको ठाडो हस्तक्षेप हामीलाई अस्वीकार्य भएको उल्लेख गर्दै सन् २०१५ मे महिनाको भारत–चीन सहमति र काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले त्यो सहमतिप्रति कडा विरोध जनाउँदै दुवै देशलाई पठाएको ‘प्रोटेस्ट नोट’ स्मरण गर्दै प्रस्तुत विषयमा दुवै राष्ट्रसँग नेपालले गहन संवाद गर्न अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा नेपालले सार्वभौमिकताको सम्मान गर्दैआएको परिपेक्षमा नेपालबारे अरु राष्ट्रसँग यस्तै अपेक्षा राख्नु स्वभाविक पक्ष भएको बताउदै दुवै छिमेकी मुलुकसंग सरकारले ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ को पक्षमा पहलकद्मी लिन आवश्यक भइसकेको अवस्थामा सामान्य नोट जारी गरेर होइन दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढङ्गले उच्चस्तरिय कूटनैतिक पहल गर्न आवश्यक रहेको भन्दै तत्काल कदम चाल्न काँग्रेसले नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।