शनिबार, बैशाख ८, २०८१

शवदाह गृहको ताल्चा फोडेर संक्रमितको अन्त्येष्टि

काठमाडौ जेठ १७, कलेजोको बिरामी ५६ वर्षीय पुरुषको बुधबार साँझ ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भयो । कोरोनाकै कारण मृत्यु भएको रिपोर्ट पनि आयो । अब प्रहरी प्रशासनलाई फसाद पर्‍यो– शवको व्यवस्थापन कसरी गर्ने † यही अन्योलका कारण शव रातभर अस्पतालमै रह्यो ।  भोलिपल्ट पनि दिनभरि शव उठेन । बिहीबार पौने ५ बजे बल्ल शव अस्पतालबाट निकालियो ।

राजदल गणका कर्णेल उत्तम सापकोटा र महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माको टोलीले शव एस्कर्टिङ गरेर ६ बजे पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पुर्‍यायो । तर, शवदाह गृहमा ताल्चा लगाइएको थियो । साँझ ७ बजेसम्म ड्युटी गर्नुपर्ने कर्मचारी कोरोनाले मृत्यु भएका व्यक्तिको शव ल्याउने खबर पाएपछि ६ बजेअघि नै ताल्चा लगाएर निस्किसकेका थिए ।

कर्णेल सापकोटाले पशुपति विकास कोषका पदाधिकारी र कर्मचारीसँग समन्वय गरेर शव लगेका थिए । ‘कर्मचारी तयारी अवस्थामा छन्, ल्याउँदा हुन्छ भनेपछि हामीले लगेका थियौं,’ घाटमा पुगेका एक प्रहरीले भने, ‘त्यहाँ शव पुर्‍याउँदा कर्मचारी कोही थिएनन् । गेटमा पनि ताल्चा लगाइएको थियो ।’

प्रहरीको समन्वयमा पशुपति विकास कोषका पदाधिकारीलाई बोलाइयो । कोषका सदस्यसचिव प्रदीप ढकालसहितको टोली आत्तिँदै आइपुग्यो । उनीहरू आउँदासम्म कोरोना संक्रमित पुरुषको शवलाई सेना र प्रहरीले सुरक्षा दिएर राखेको थियो । ‘म आफैं गएर ढोकाको ताल्चा फुटाएँ,’ ढकालले भने, ‘धुलिखेलमा मृत्यु भएकी संक्रमित महिलाको शव अन्त्येष्टि गरेर क्वारेन्टाइनमा बसेका साथीहरूलाई बोलाएर ती पुरुषको शव अन्त्येष्टि गर्‍यौं ।’ धुलिखेलकी महिलाको शव अन्त्येष्टि गरेको बिहीबार १३ दिन भएको थियो ।

सदस्यसचिव ढकालले पशुपतिस्थित किरियापुत्री घरमै क्वारेन्टाइनमा बसेका अर्जुन खड्का र पूर्णबहादुर कार्कीलाई बोलाएर शव अन्त्येष्टि गराएका हुन् । कर्मचारी व्यवस्थापन गर्न ढिलाइ भएपछि साढे ७ बजे मात्रै ती पुरुषको शव विद्युतीय शवदाह गृहमा हालिएको थियो । ‘साथीहरूसँग पीपीई केही थिएन, डराएर गएको हुनुपर्छ । हामीसँग पनि केही थिएन । अन्त्येष्टि गर्ने बेलामा प्रहरीले ल्याइदिए,’ संक्रमित व्यक्तिको शव व्यवस्थापनमा खटिएका पूर्णले भने, ‘डर पनि लाग्यो । अरूले नगरेको काम गर्न पाउँदा खुसी पनि भएँ ।’

शव अन्त्येष्टि गर्न डराएर भाग्ने चार जनालाई स्पष्टीकरण सोधिसकेको सदस्यसचिव ढकालले बताए । यसमा शाखा अधिकृत, खरिदार, इलेक्ट्रिसियन र कार्यालय सहयोगी छन् । ‘उनीहरूले आफ्नो ड्युटीको समय पूरा नगरी भागेकाले कारबाही हुन्छ,’ उनले भने । विद्युतीय शवदाह गृहमा शव व्यवस्थापन गर्न ६ जना कर्मचारी छन् । आठरआठ घण्टाको ड्युटी समय निर्धारण गरेर दुईरदुई जना खटाइएको छ । दुई जनामध्ये एक जना ट्रली ठेल्ने, शव राखेको बाँसको खट मिलाउने र एक जना स्वीच थिच्ने इलेक्ट्रिसियन हुन्छन् । शव अन्त्येष्टिमा संलग्न दुई जना पुनस् क्वारेन्टाइनमै फर्केको  खवर कान्तिपुर दैनिकमा  मकर श्रेष्ठको वाइ लाइनमा प्रकाशित रहेको छ ।

२४ सै घण्टा खुल्ने शवदाह गृहमा शुक्रबार १२ बजे पुग्दा पनि ताल्चा लगाइएको थियो । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शव जेठ ३ मा अन्त्येष्टि गरेपछि कोषले १० गतेसम्म बन्द गरेको थियो । २४ सै घण्टा खुल्ने विद्युतीय शवदाह गृह ११ गते बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुल्थ्यो । यी पुरुषको शव ल्याउनुअघि कर्मचारी निस्केका हुन् । बिहीबारको जस्तो समस्या नहोस् भनेर व्यवस्थापन समिति बनाइएको ढकालले बताए । थप कर्मचारीसमेत व्यवस्थापन गरिने उनले बताए ।

शव वाहन नपाएर ट्रकमा :  आइतबार अस्पताल भर्ना भएका यी पुरुषको सोमबार कोरोना परीक्षण गर्न स्वाब निकालिएको थियो । मृत्युपछि उनको रिपोर्ट पोजिटिभ आएको हो । मृत्यु भएलगत्तै पनि उनको अन्त्येष्टि हुन सकेन । अन्त्येष्टि कसले गर्ने ? कहाँ गर्ने ? कुन गाडीमा लैजाने ? ललितपुरका प्रहरी प्रशासनले निर्णय लिनै सकेन । ‘उपत्यकामा पहिलो घटना भएकाले व्यवस्थापन गर्न केही समय लागेको हो,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ।

प्रशासनले बिहीबार दिउँसो सुरक्षा निकायसँग छलफल गरेर सेनाले अन्त्येष्टि गर्ने र प्रहरीले समन्वय गर्ने निर्णय भयो । मृतकको शव लैजान प्रहरीले उपत्यकाका सबैजसो शव वाहन चालकलाई फोन गरे तर कसैले मानेनन् । ‘भएभरका शव वाहन चालकलाई पहिला सम्पर्क गर्‍यौं, कसैले जान मानेनन् । केहीले मोबाइल स्वीच अफ गरे, केहीले जान्नौं भने,’ एक प्रहरीले भने ।

भक्तपुरबाट गाडी ल्याएर संक्रमितको शव पशुपति पठाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले बताए । यसअघि भक्तपुर प्रहरी र सेनाले निजी गाडीलाई कोरोना संक्रमित बिरामी र मृत्यु भएको शव ओसार्ने गरी ‘मोडिफाई’ गरेको थियो । पशुपति विकास कोषले पनि भक्तपुरको वीरदल गणलाई भाडाको ट्रकलाई उपत्यकामा कोरोनाले मृत्यु भएकाको शव बोक्न मिल्ने गरी मोडिफाई गर्न दिएको थियो । यही ट्रकमा ती पुरुषको शव ल्याइएको हो । मोडिफाईको काम बाँकी छँदै ती पुरुषको शव लगिएको हो ।

कोरोना पुष्टि भएकाको शव व्यवस्थापनमा समस्या भएको यसपटक मात्रै होइन, काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शव व्यवस्थापनमा पनि उस्तै सकस परेको थियो । ती महिलाको शव पशुपतिको विद्युतीय शव दाहगृहमा व्यवस्थापन गर्ने निर्णय भए पनि शव वाहन पाइएको थिएन । भक्तपुर प्रहरी र सेनाले व्यवस्था गरेकै गाडीमा स्काउटका दुई युवा गएर ती महिलाको शव पशुपति ल्याइएको थियो । यी दुई जनालाई महिलाका श्रीमान् र धुलिखेल अस्पतालका सफाइ कर्मचारी सुमन नापितले सहयोग गरेका थिए ।

त्यस्तै बाँकेमा मृत्यु भएका युवाको शव व्यवस्थापन भने डोजरले उठाएर लगेर पुरिएको थियो । बुटवलमा मृत्यु भएका गुल्मीका पुरुषको शव पनि कसले कसरी भन्ने दुई दिनसम्म रह्यो । उनको शव पनि सेनाका दुई जनाले व्यवस्थापन गरेका थिए ।

हुनुपर्ने के हो ? 
सरकारले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूका शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बनाएको छ । कार्यविधिमा कोरोनाका कारण मृत्यु भएको शव जथाभावी सद्गत गर्न नहुने उल्लेख छ । मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्नु नपर्ने र गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगमा जीवाणु जिउँदै हुन सक्ने हुनाले होसियारी अपनाएर गर्नुपर्ने हुन्छ । पोस्टमार्टम गरे यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर गर्नुपर्ने हुन्छ ।

कार्यविधिअनुसार शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्छ । शव लिन जानुपूर्व शव वाहनका चालक तथा कर्मचारीले पीपीई प्रयोग गर्नुपर्दछ । शवलाई अस्पताल वा घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सद्गत गर्ने व्यक्तिहरू र सद्गतमा सहभागी हुने मृतकका आफन्तजनले पन्जा, चस्मा, टोपी, मास्कसहितको पीपीईको प्रयोग गर्नुपर्छ । शवलाई कमभन्दा कम व्यक्तिले मात्रै छुने र शवमा लागेका पाइप, केथेटरलगायतका सामग्री हटाउनुपर्छ । शवको कुनै भागबाट रगत बगेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ । कार्यविधिमा उल्लेख गरिएअनुसार शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शव वाहनको प्रयोग गर्न सकिनेछ । त्यसैगरी मृतकको आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तीमा एक मिटर टाढाबाट पालैपालो एकरएक जनाले शव हेर्न सक्नेछन् ।

मृतकको कूल धर्मअनुसार शवको सम्मान गर्दै आफन्तलाई समेत सुरक्षित राख्नुपर्ने हुन्छ । सद्गत गर्नुपूर्व आफ्नो परम्पराअनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउनेजस्ता क्रियाकलाप गर्न पनि पाइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।