बिहिबार, बैशाख १३, २०८१

चन्द्रागिरी नगरपालिकाको तर्फबाट प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल

काठमाडौं जेठ १६ ,  समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरी नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।  चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवाली मार्फत ४ लाख ७१ हजार ८ सय रुपैयाँ मूल्य बराबरको यामाहा कम्पनीका २ थान मोटरसाइकल महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले समुदाय तथा स्थानीय निकायले प्रहरीलाई निश्वार्थ प्रदान गरेका श्रोतसाधनको उपयोग गरी समाजको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा थप प्रभावकारिता हासिल गरी समुदायलाई थप सुरक्षाको प्रत्याभूति दिलाउन मद्दत पुर्‍याउने बताउनुभयो ।
त्यस अवसरमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकामा शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रण कार्यमा थप मद्धत पुर्‍याउने उद्देश्य अनुरुप महानगरीय प्रहरी वृत्त थानकोटलाई उक्त मोटरसाइकलहरु प्रदान गरिएको बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले प्राप्त मोटरसाइकलहरु नगरक्षेत्रमा प्रहरी सेवा तथा प्रहरी पहुँच यथाशीघ्र पुर्‍याउनको लागि [QRT]को रुपमा परिचालन गरिने जानकारी दिनु भयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उपप्रमुख लिसा नकर्मी, उक्त नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन, स्थानीय जनप्रतिनिधि, प्रहरी कर्मचारी एवं संचारकर्मीहरूको समेत उपस्थितिमा रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।