बुधबार, बैशाख १२, २०८१

सञ्चार क्षेत्रलाइ तत्काल राहत प्याकेज घोषणा गर्न माग

काठमाडौ बैशाख ८, नेपाल पत्रकार महासङ्घले विश्वव्यवापी कोभिड -१९ को जोखिम संगै मुलुकमा विगत ४ हप्ता यतादेखि जारी लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घको केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीवीच आज भएको भिडियो कन्फरेन्स बैठकले कोभिड -१९ को संक्रमणले उत्पन्न गराएको जटिल परिस्थितिमा सञ्चार क्षेत्रले खेलेको भूमिका र चुनौतीको समीक्षा गर्दै नेपाल सरकारले संक्रमण नियन्त्रणका लागि चलाएको अभियानलाई सञ्चार क्षेत्रको तर्फबाट पूर्ण साथ दिँदै मर्यादित र जिम्मेवार पत्रकारिताका लागि समेत लाई महासंघले जोड दिएको छ ।

बैठकपछि महासंघका महमसचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा समाचार संकलनका क्रममा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न महासंघ आमसञ्चारकर्मीहरूमा आग्रह गर्दै सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने काममा क्रियाशील पत्रकारहरुलाई कतिपय सञ्चारगृहले पारिश्रमिक उपलब्ध नगराएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै श्रमजीवी पत्रकारका समस्याप्रति गम्भीर बन्दै संकटको यो घडीमा त्यस्ता निर्णयहरु नगर्न सञ्चार प्रतिष्ठानहरूको ध्यानार्कषण समेत गराएको छ ।  साथै, क्वारेन्टीन, आइसोलेसन वार्ड र संक्रमण परिक्षण स्थलको सम्वेदनशिलतालाई ख्याल गर्न र पर्याप्त पूर्वसतर्कता र सुरक्षाको सुनिश्चितता नभई नजान आग्रह गर्नुको अलावा असंगठित मजदुर, श्रमिक, सीमान्तकृत समुदाय र बाटोमा हिँडेर गन्तव्यतर्फ गइरहेका नागरिकहरुको समस्या सम्वोधन गर्न महासंघले सरकारसमक्ष आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।