बुधबार, बैशाख १२, २०८१

मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौ चैत २९ , विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ ।

आयोगका सदस्य पौड्यालको संयोजकत्वमा गठित समितिमा आयोगका सचिव वेद भट्टराई, नेपाल बार एशोशिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौड्याल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट र गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष जीतराम लामा र महासचिव रामप्रसाद सुवेदी र आयोगका निर्देशक डा टीकाराम पोखरेल रहेको आयोगद्दारा जारी विज्ञििप्तमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सातवटै प्रदेशमा आयोगका प्रदेश कार्यालय प्रमुख, नेपाल बार एशोशिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालका प्रदेश अध्यक्ष रहने गरी प्रदेशस्तरीय समिति गठन गरिने तयारी पनि आयोगले गरेको छ । यसैगरी देशका ७७ वटै जिल्लामा नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रहने गरी जिल्लास्तरीय अनुगमन समिति गठन गरी कार्य सम्पादन गर्ने निर्णय गरिएको उल्लेख गर्दै यसरी गठित समितिले मुलुकको विषम अवस्थामा नेपाल सरकारबाट भइरहेका कार्य, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्यलगायतका विषयको अनुगमन गरी आवश्यक सुझाव दिने कार्यादेश दिईएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।