शनिबार, बैशाख ८, २०८१

आज ‘राष्ट्रिय एकता तथा ४४ औं मेलमिलाप दिवस मनाउँदै

 काठमाडौं पुस १६, आज पौष १६ गते अर्थात ४४ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रजातान्त्रिक आन्दोलनका आधारस्तम्भ जननेता वीपी कोइरालासहित गणेशमान सिंह, रामबाबु प्रशाई ,शैलजा आचार्य, निलाम्बर पन्थी, खुमबहादुर खड्कालगायतका नेताहरु आठ वर्षे निर्वासन जीवन बिताएर आजकै दिन मुलुक र जनअधिकारको रक्षाका लागि ज्यानको बाजी लगाएर मेलमिलापको नीतिका साथ राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएका थिए ।
तर बिपीलगायत नेताहरुलाई राजा महेन्द्रले भने मेलमिलाप त परै जाओस् उल्टै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।

नेताहरु विसं २०३३ मा राष्ट्रियता जोगाउन मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्कनुभएको दिन पुस १६ गतेको स्मरणमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँने गरिएको हो । त्यसो त प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका बिपी कोइराला कुनै दल विशेषको मात्र नभई सम्पूर्ण मुलुककै राजनेताका रुपमा चिनिनुहुन्छ । त्यसैकारण आज पनि देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय मेलमिलापको सन्देश उत्तिकै सान्दर्भिक रहेको छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेस र भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् । काँग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायतका कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।