मङ्लबार, बैशाख ४, २०८१

आजबाट इस्वी संवतको नयाँ वर्ष २०२० सुरु

राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने प्रम ओलीको विश्वास

काठमाडौ पुस १६ , आजबाट ग्रेगोरियन पात्रोअनुसार प्रत्येक वर्ष जनवरी पहिलो तारिख अर्थात इस्वी संवत्को वर्ष २०२० सुरु भएको छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि उनका अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा पनि नयाँ वर्ष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी मनाउँने गरेका छन् । यसैक्रममा नयाँवर्ष २०२० का अवसरमा काठमाडौं, पोखरा, भेडेटार लगायतका मुख्य पर्यटकीय स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको घुईचो लागेको छ ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रूपमा रहेको, चर्चा गर्दै वर्ष २०१९मा हामीले अन्तरराष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्नु आफैमा उपलब्धि भएको बताउँनु भएको छ ।

साथै उहाँले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । समग्रमा राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गो समाज यस अवधिमा विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सकेको छ, भन्दै राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गर्नुभएको छ । ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।