शुक्रबार, चैत्र १६, २०८०

सागका स्वर्ण विजेता खेलाडीलाइ जनही ९ लाख पुरस्कार घोषणा

काठमाडौं मंसिर २५ , मंगलवार विधिवतरुपमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद सागमा पदक विजेता खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सागका विजेता खेलाडीलाई सम्मानका लागि आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सम्पन्न सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जित्दै राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा प्रस्तुत पुरस्कारको घोषणा गर्नु भएको हो ।

आज घोषित पुरस्कार अनुरुप स्वर्ण पदक जित्ने खेलाडीको सम्मानमा जनही रु ९ लाख पुरस्कार दिने घोषणा गर्नुभयो । त्यस्तै एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही रु ११ लाख प्रदान गरिनेछ । यस्तै ‘टिम इभेन्ट’तर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु ५ लाख दिइने भएको छ । त्यस्तै स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकलाइ समेत रु पाँच लाख पुरस्कार प्रदान गरिने भएको छ ।

यस्तै रजत पदक जित्नेलाई जनही रु छ लाख तथा कास्य जित्नेलाई जनही रु ३ लाख पुरस्कार संघीय सरकारले प्रदान गर्ने भएको छ । यसअघि सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख, रजत जित्नेलाई जनही रु तीन लाख तथा कास्य जित्नेलाई जनही रु दुई लाख पुरस्कार प्रदान गरिँएको थियो ।

पुरस्कार घोषणा समारोहमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्बाङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।