शुक्रबार, चैत्र १६, २०८०

पश्चिमी वायुको प्रभाव :शनिवारसम्म देशभर बदलीसंगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना,अत्यधिक चिसो बढ्ने

काठमाडौ मंसिर २६,  जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रहनुको अलावा हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।  बुधबार साँझ देशका पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी न्यूनचापीय वायुको प्रभावले उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात तथा पूर्वी भूभागका केही स्थानमा वर्षा भएको विभागले जनाएको छ ।

त्यस्तै विभागले प्रस्तुत वायुको प्रभावका कारण आगामी ३ दिन देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा अप्रत्याशित फेरबदल भइ चिसो अत्याधिक बढ्ने जनाइएको छ ।  यसैवीच पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा भएको हिमपातका कारण चिसो अत्यधिक बढेसंगै स्थानीय जनजीवन कष्टकर बनेको विभिन्न सञ्चारमाध्यमले जनाएको छ ।

यसैवीच विभागले आज जारी गरेको मौसम बुलेटिनमा  शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना औल्याएको छ ।

त्यस्तै शनिबार समेत देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरैजसो स्थानका साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना औल्याउँदै महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १८ दशमलव नौ डिग्री सेल्सियस मापन भएको जनाएको ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।