शुक्रबार, चैत्र १६, २०८०

प्राधिकरणले पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीलाइ अनुदान रकम उपलब्ध गराउँने

काठमाडौ मंसिर १२, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई शर्तसहित पुनः अवसर दिएको छ । प्राधिकरणको शर्त अन्र्तगत लाभग्राहीले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउँदै सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएमा अनुदान उपलब्ध गराउने नितिगत निर्णय गरेको हो ।

प्राधिकरणले २०७६ असार २१ गतेसम्म सम्झौता नगरेका र २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिई अनुदान वितरण स्थगन गरिएका लाभग्राहीलाई एक पटकका लागि सम्बन्धित स्थानीय तहले घर पुनर्निर्माणको सुनिश्चितता गरी सिफारिस गरेमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले आवश्यक छानबिन गरी जिल्ला पुनर्निर्माण सहजीकरण समितिमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

समितिले यसरी प्राप्त गरेका विवरण र सिफारिससमेत अध्ययन गरी सम्बन्धित लाभग्राहीबाट आफ्नो आवास तोकिएको समयसीमाभित्र पुनर्निर्माण गर्ने प्रतिबद्धता भएको पाएमा स्थगन गरिएको अनुदान उपलब्ध गराउन सक्ने जनाएको छ । यसरी लाभग्राही कायम भएकाले पहिलो किस्ता २०७६ पुस मसान्तभित्र र दोस्रो किस्ता २०७६ माघ मसान्तसम्म लिइसक्नु पर्नेछ ।

प्राधिकरणले यसअघि सयमसीमा तोकी अनुदान सम्झौता गर्न र किस्ता लिन आग्रह सहित दोस्रो किस्ता लिने समय कात्तिक मसान्तसम्म तोकिएको थियो । यद्यपी प्राधिकरणले स्थानी जनप्रतिनिधीको माग अनुरुप पुन यस किसिमको मौका प्रदान गरिएको जनाएको छ । त्यस्तै प्राधिकरणले एकीकृत बस्तीका लाभग्राही, बस्ती स्थानान्तरण गर्नुपर्ने लाभग्राही, भूमिहीन लाभग्राही, जोखिम वर्गका लाभग्राही, काठमाडौँ उपत्यकाभित्रका लाभग्राही एवम् छुट तथा पुनःजाँच सर्वेक्षणको लगत विश्लेषणबाट कायम हुने लाभग्राहीबारे फरक समयसीमा निर्धारण गरेको जानकारी दिदै २०७७ वैशाखभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने र असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने  जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।