शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसले भन्यो- नेपालको अविभाज्य भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल आवश्यक

प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति निर्वाचन आचारसहिता विपरित, निर्वाचन आयोग जस्तो साझा संवैधानिक निकायले निरिहता प्रकट गर्नुलाई आगामी दिनको लोकतान्त्रिक अभ्यासका लागि सुखद सङ्केत मान्न सकिन्न 

काठमाडौ कार्तिक २६, नेपाली काङ्ग्रेसले भारतले अतिक्रमण गरिएको नेपाली भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि रहेको बताउँदै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सा आफूहरुलाई स्वीकार्य नहुने बताउँनु भएको छ ।

त्यस्ते उहाँले प्रधानमन्त्री केपी ओलीले गत २३ गते बोलाउनुभएको सर्वदलीय बैठकमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको भएको भन्दै सो क्षेत्र फिर्ता लिन सरकारलाई खुला समर्थन रहने धारणा व्यक्त गरिसक्नुभएको जानकारी समेत दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले आसन्न उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार सहिताको परिच्छेद—४ को ९ मा ‘नयाँ पद सिर्जना गर्न या रिक्त पद पूर्ति गर्न’ समेत नपाइने प्रष्ट व्यवस्था उल्लेख भएको अवस्थामा सरकारले प्रदेश प्रमुख बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुखको नियुक्ति गरेको घटनाले निर्वाचन आचारसंहिताको मर्म विपरित नभएको भन्ने सवालमा दिएको प्रस्टीकरणप्रति काङ्ग्रेसको ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन आचारसंहिता कर्मचारीका हकमा मात्रै भन्ने तर्क दिएर उन्मुक्ति खोज्नु नैतिक दृष्टिले सतप्रतिशत गलत रहेको बताउँदै निर्वाचन आयोगसँग पूर्वसहमति लिएर अत्यावश्यक निर्णय लिन मिल्ने आवश्यकताको सिद्धान्त आकर्षित भएको नदेखिनु तर निर्वाचन आयोग जस्तो साझा संवैधानिक निकायले निरिहता प्रकट गर्नुलाई आगामी दिनको लोकतान्त्रिक अभ्यासका लागि सुखद सङ्केत मान्न नसकिने बताउँनु भएको छ ।

त्यस्तै प्राडा गोविन्द केसीको जारी अनसन तोड्न तत्काल वार्ता टोली गठन गरेर प्रा डा केसीको जायज माग सम्बोधन गर्न र उहाँको जीवन रक्षा गर्न सरकारको ध्यानकर्षण समेत गराउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।