शनिबार, बैशाख ८, २०८१

NRNA महाधिवेशनको निर्वाचन कार्यक्रम प्रकाशित, नेतृत्वका लागि आचार्य र पन्त चुनावी मैदानमा

विधिवत उम्मेदवारीको घोषणा गर्दै कुल आचार्य

काठमाडौं, असोज २७,   गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि हुँने ९औँ अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रम प्रकाशित भएको छ ।  मंगलबार राजधानीस्थित हायत होटलमा विधिवत शुभारम्भ हुँने   महाधिवेशनको प्रकाशित निर्वाचन कार्यक्रम अनुसार उद्घाटन सत्रको भोलिपल्ट उम्मेदवारको मनोनयन दर्तादेखि मतदान र मतगणनासमेत सकाउने गरी कार्यक्रम प्रकाशित गरिएको छ । मतदानका लागि बुधबार दिउँसो ३ देखि राति ८ बजेसम्मको समय तोकिएको छ ।

त्यस्तै यसपटक एनआरएनएको प्रस्तुत महाधिवेशनले lवधानत व्यवस्था अनुरुप १२ पदमा ४२ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । जसअनुसार संघको अध्यक्ष एक, महिला उपाध्यक्ष सहित ५ , महासचिव १, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजक १/ १ जना निर्वाचित हुने भएको छ ।त्यस्तै प्रत्येक क्षेत्रीय समितिबाट एकरएक गरी ६ जना क्षेत्रीय संयोजक र ३ जना क्षेत्रीय उपसंयोजकको समेत नयाँ व्यवस्था गरेको जनाएको छ ।

यसैवीच एनआरएनएको आगामी आगामी कार्यकालको नेतृत्व लिन यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका कुल आचार्य  र कुमार पन्त  चुनावी मैदानमा ओर्लिएका छन् ।    लोकतान्त्रिक समूहबाट  बेलायतबाट प्रतिनिधित्व गर्दै  आगामी कार्यकालको नेतृत्व लिन आचार्यले आज आफ्नो १० बुँदे कार्ययोजना सहित उम्मेदवारीको विधिवत घोषणा गरेका छन ।

उनले आफ्नो १० बुँदे योजनामा एनआरएनएलाई सबै गैरआवासीय नेपालीको अपनत्व महसुस गर्ने साझा संस्थाको रुपमा विकास गर्नुको अलावा ब्रेनड्रेनलाई रोकेर ब्रेनग्रेनलाई अघि बढाउने प्रतिवद्धतासमेत जनाएका छन्। एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा अघि सारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणबद्ध रुपमा कार्यान्वयनमा लगिने पनि आचार्यले प्रतिवद्धता जनाएका छन्।

यस्तो छ आचार्यद्वारा जारी प्रेस विज्ञाप्ति :  

गैरआवासीय नेपाली संघ (एनआरएनए ) को अक्टोबर महिनाको १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको नवौं विश्व सम्मेलनमा भाग लिन संसारका विभिन्न देशहरुबाट पाल्नुभएका सम्पूर्ण महानुभाव, शुभेच्छुक, शुभचिन्तक, पत्रकार, पर्यवेक्षक लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु ।  गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन अघि ८१ देशहरुमा सम्पन्न राष्ट्रिय समन्वय परिषदको नेतृत्वमा चुनिनुभएका सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधि साथीहरुलाई हार्दिक बधाई एवं सफलताको शुभकामना व्यक्त गर्दछु

गैरआवासीय नेपाली संघ बेलायत हुँदै गैरआवासीय नेपाली अभियानमा होमिएको १२ वर्षपछि म युरोप संयोजक हुँदै अहिले संघको केन्द्रीय उपाध्यक्षको रुपमा काम गरिहेको छु । गैरआवासीय नेपाली संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा र अपनत्व महशुस हुने खालको संस्था निर्माण गर्न मैले आफ्ना उम्मेद्वारी घोषणासँगै १० बुँदे कार्ययोजना सार्वजनिक गरेको छु । संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउन मैले आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना अघि सारेको छु ।

गैरआवासीय नेपाली संघमार्फत् गैरआवासीय नेपाली र नेपाललाई जोडन र गैरआवासीय नेपालीको पूँजी र सीप नेपालको विकासमा लगाउन ‘समृद्ध नेपाल हाम्रै जीवनकालमा’ भन्ने नारा साकार गर्ने उद्देश्यले यो योजना अघि सारेको छु । आर्थिक मात्रै होइन संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिका लागि बौद्धिक तथा आर्थिक लगानी भित्र्याउने योजना अघि सारेको छु ।

मर्यादित र व्यवस्थित वैदेशिक रोजगार देश निर्माणको आधार बनाउन मैले पसिना फण्डको परिकल्पना गरेको छु, जसमा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन ६ बुँदे कार्ययोजना अघि बढाएको छु । अहिले नेपालको सबैभन्दा ठूलो चिन्ताको विषय सुरक्षित रोजगारी र कामदारको जीवनरक्षाको विषय हो । पसिना फण्ड नामक उक्त कोषमा जम्मा भएको रकम नेपालको हितमा साथै लगानीकर्तालाई पनि मुनाफा हुने आकर्षक लगानीमा लगाइनेछ । यसका साथै आगामी दुई बर्षभित्र वैदेशिक रोजगार राहत कोष दोब्बर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्या परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको समस्या बुझ्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, सीप विकास केन्द्रको स्थापना गर्ने, लगायतका कार्ययोजना अघि सारेको छु ।

हामीले सुरुदेखि नै गैरआवासीय नेपालीलाई नागरिकताको विषय उठाउँदै आएका छौं । यो विषय संविधानमै उल्लेख भइसकेको छ । अहिले संसदमा नागरिकता विधेयक विचाराधीन अवस्थामा छ, यसलाई निष्कर्षमा पुर्‍याउन गैरआवासीय नेपालीलाई नागरिकताको आधारमा छुट्टै पासपोर्ट उपलव्ध गराउन पहल गर्ने, नेपाली नागरिकको हैसियतले हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट पार्न पहल गर्ने लगायतका कार्ययोजना पनि मैले अघि सारेको छु ।

गैरआवासीय नेपाली लगानीकर्ता बाहेक एनआरएनएका सदस्यको सम्पर्क र सम्बन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, धेरैभन्दा धेरै मुलुकहरुसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्ति सम्झौता गर्न संस्थागत पहल गर्नेछु । नेपालका सबै नियोगहरुमा एनआरएनए एनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न नेपालमा लगानीः उन्नतिको बिहानी कार्यक्रम अघि सारेको छु ।

नेपाल सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना गरेको ब्रेन ग्रेन सेन्टरलाई प्रभावकारी बनाउने र ब्रेन ड्रेनलाई ब्रेन ग्रेनतर्फ अगाडि बढाउने योजना छ ।  एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा अघि सारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणबद्ध रुपमा कार्यान्वयनमा लगिने छ । आगामी २ वर्षभित्र संगठनको सदस्य संख्या कम्तिमा एक लाख पुर्‍याउने, विदेशमा हुर्किरहेका युवा पुस्तालाई नेपाल, नेपाली भाषा, सभ्यता र संस्कृतिसँग जोडन मेरो उच्च प्राथमिकता हुनेछ । युवा तथा महिला सबै आयोजनमा पहिला कार्यक्रम अन्तर्गत प्रवासी महिला र युवा सम्बद्ध कार्यक्रमलाई प्राथमिकता दिने, सबै एनसीसीहरुमा अनिवार्य रुपमा एकजना महिला उपाध्यक्ष हुने गरी नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता अघि सारेको छु । यसैगरी, नेपाल चिनौं अभियान अन्तर्गत विदेशमा हुर्किएका पुस्तालाई नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्ने, युवा उद्यमशीलताको विकास र सडक सुरक्षा लगायतका कार्यक्रम रहेका छन् ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन मेरो मुख्य जोड रहनेछ । त्यसका लागि पर्यटन सम्वन्धि कार्यक्रम गर्न सवै एनसीसीहरुलाई प्रोत्साहित गर्ने, सरकार र पर्यटन बोर्डसँग समन्वय गरी काम गर्ने योजना छ ।

‘मातृभूमिमा समृद्धि कर्मभूमिमा संस्कृति’ लाई मूलमन्त्र मानेर नेपाली भाषा, भेष, साहित्य, कला र संस्कृतिको सम्वर्धन र प्रवर्धन गर्न विभिन्न कार्यक्रम अघि सारेको छु । ‘एनआरएनए हाम्रो, बनाऔं यसलाई अरु राम्रो’ भन्ने अभियानलाई सशक्त बनाउन, र एनआरएनएलाई सबै गैरआवासीय नेपालीहरुको अपनत्व हुने किसिमको साझा संस्थाका रुपमा विकास गर्न विगत जस्तै तपाईंहरु सबैको सुझाव, सल्लाह र समर्थनका लागि हार्दिक अनुरोध गर्दछु । अन्त्यमा भर्खरै सकिएको नेपालीहको महान चाड विजयादशमी तथा आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।