बिहिबार, बैशाख १३, २०८१

भगवान शिवको पूजा आराधनासहित हरितालिका तीजपर्व मनाइदै

  काठमाडौं भाद्र १६,  आज भाद्र शुक्ल तृतीया अर्थात नेपाली महिलाहरूको महान चाड हरितालिका तीज भगवान शिवको आराधना एवम् नाचगान गर्दै हर्षोल्लासमय रुपमा मनाउँदैछ । तीज हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण पर्वको रुपमा रहेको यो पर्व भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र विभिन्न जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता रहिआएको छ ।

यसैक्रममा आज ब्रत बसेका महिलाहरुले नजिकका शिवमन्दिरमा भेला भई दिनभरनाचगान रमाईलो गर्ने गर्दछन् । आज बिहानैदेखी महिलाहरुसौभाग्यसुचक रातो कपडा, धागो, चुरा-पोते, टीका र गरगहनासहित रातो कपडामा सजिएर शिव मन्दिरहरुमा पूजा आराधाना गर्ने गर्दछन् । विशेषगरि काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर र विभिन्न शिलावयमा महिला ब्रतालुको ठूलो भीड लाग्ने गर्दछ ।

त्यस्तै तीजको धार्मिक दस्तावेजमा वर्णित आख्यान अनुसार हिन्दू धार्मिक ग्रन्थ अनुसार   हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।

पर्वको महत्त्व : आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।