बिहिबार, बैशाख १३, २०८१

काठमाडौं महानगर खुल्ला दिशामुक्त महानगर’ घोषित

काठमाडौं भाद्र २४,  काठमाडौं महानगरलाई खुल्ला दिशामुक्त महानगरका रुपमा घोषणा गरिएको छ । महानगरको केन्द्रीय कार्यालयस्थित सभा कक्षमा महानगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिद्दारा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई महानगर खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको प्रमाण पत्र प्रदान गर्नुभएको हो ।

कार्यक्रममा महानगका प्रमुख शाक्यले महानगरमा यस अघि नै आधारभूत तहको सरसफाइको मापदण्ड पूरा भएको बताउँदै यसलाई पूर्ण सरसफाइमा रुपान्तरण गर्न नागरिक सचेत हुनु पर्ने र सरकारले अघि सारेका कार्यक्रममा नागरिकसहित साझेदारको सक्रिय सहभागिता हुनुपर्ने बताउनु भएको छ ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख एवं खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले काठमाडौंलाई खुल्ला दिशामुक्त महानगर घोषणा गर्न यस अघि नै मापदण्ड पूरा भइसकेको भएको बताउँदै शासन व्यवस्था परिवर्तनका कारण ढिला भएको धारणा राख्दै काठमाडौंका  सबै नगरलाई खुल्ला दिशामुक्त नगर घोषित गरिसकेको र आगमी ३१ गते काठमाडौं जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने जानकारी दिनु भएको छ ।

घोषणा कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ, खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, महानगरका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।