शुक्रबार, चैत्र १६, २०८०

योग्य व्यक्ति सिफारिस गर्न आयोगको ध्यानाकर्षण

काठमाडौं भाद्र ५, राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायका समयन्त्र गठनका क्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्तिका क्रममा स्वतन्त्र, निष्पक्ष, पीडित मैत्री तथा पारदर्शी रुपमा मानव अधिकारका मूल्य र मान्यता अनुकूल योग्य व्यक्ति सिफारिस गर्न ध्यानाकर्षण गराएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्ति गर्ने सिफारिस समितिले निष्पक्ष र स्वतन्त्ररुपमा सिफारिस गर्न आवश्यक रहेको पक्षमा ध्यानाकर्षण गराएको हो ।

त्यस्तै अध्यक्ष शर्माले जारी गर्नु भएको विज्ञप्तिमा ‘सिफारिस गर्ने जिम्मेवारी कानूनद्वारा नै व्यवस्था गरिएको सिफारिस समितिको भएको कुरामा द्विविधा हुनुपर्ने होइन, समितिबाट रिक्त रहेका ती दुवै आयोगहरुको पदाधिकारी चयन गर्ने सम्बन्धमा नियुक्ति प्रक्रियामा निष्पक्षता, तटस्थता र पारदर्शितासमेत नरहने उल्लेख गर्दै यस्तो परिस्थितिबाट द्वन्द्वपीडितहरुले न्यायको अनूभूति गर्न कठिन हुने र कानूनद्वारा अख्तियारी प्रदान गरिएको सिफारिस समितिको वैधता र निष्पक्षतामाथि नै प्रश्न चिह्नसमेत खडा हुने भएकाले उक्त समितिमा रही आयोगले कार्य गर्ने वा नगर्ने सम्बन्धमा पुनर्विचार गर्न आवश्यक रहेको जिकिर गरिएको छ ।

त्यस्तै ऐन संशोधन प्रक्रियामा राजनीतिक वृत्तको ध्यानाकर्षण भएकामा भने आयोगले सन्तोष व्यक्त गरेको छ तर सङ्क्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पु-याउनुपर्ने सम्बन्धमा विस्तृत शान्ति सम्झौताको बेलादेखि नै आयोगले समय–समयमा आफ्ना धारणा व्यक्त गर्दै आएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।