शुक्रबार, चैत्र १६, २०८०

काङ्ग्रेस केन्द्रीय समिति: पार्टीको अन्तरिम संरचना गठन गर्ने नितिगत सहमति

काठमाडौ साउन १८ , नेपाली काङ्ग्रेसको जारी केन्द्रीय  समितिको शुक्रवारको बैठकले पार्टी सङ्गठनको स्थानीय संरचनालाई रूपान्तरण गरी सङ्घीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने नितिगत सहमति कायम गरेको छ ।

अन्तरिम संरचना गठनका लागि तत्कालीन क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेबमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्दै १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने बैठकमा सहमति भएको काँग्रेसले जनाएको छ ।

त्यस्तै बैठकमा पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले प्रतिष्ठानको हालसम्मको कार्य प्रगति विवरण र आगामी कार्य योजनाबारे प्रतिवेदन त्यस्तै महामन्त्री पूर्णबहादुर खड्काले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को प्रतिवेदन प्रस्तुत गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, रमेश रिजाल, डा मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, एनपी साउद, शङ्कर भण्डारी, मीन विश्वकर्मा र वीरबहादुर बलायरले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । साथै बैठकले केन्द्रीय सदस्य गोविन्द भट्टराईकी ७४ वर्षीया ममतामयी माता बसुन्धरा भट्टराईको निधनप्रति दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको जनाउँदै केन्द्रीय समितिको बैठक साउन २२ गते दिउँसो २ बजे पुनः बस्नेछ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।