शनिबार, बैशाख ८, २०८१

भूकम्पपीडित अनुदान लाभग्राही सम्झौता नगर्नेको नाम सूचीबाट हटाइए

काठमाडौ साउन ७,  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाउनुको अलावा २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेलाई पनि लाभग्राहीको सूचीबाट हटाइएको जनाएको छ ।

 अनुदान लाभग्राहीमा परे पनि ५७ हजार ३०९ ले अनुदान सम्झौता गरेका छैनन् । कूल ८ लाख २६ हजार ९३३ मध्ये सात लाख ६९ हजार ६२४ ले अनुदान सम्झौता गरेको र ५७ हजार ३०९ ले अनुदान सम्झौता समेत नगरेको जानकारी दिदै प्राधिकरणका सह प्रवक्ता तथा  र सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिनु भएको छ ।

त्यस्तै प्राधिकरणले  अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको सङ्ख्या पाँच हजार ५४० रहेको जनाउँदै प्राधिकरणले गरेका निर्णयलाई कार्यान्वयन गर्ने क्रममा समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाएको उहाँले जानकारी दिनुभयो । प्राधिकरणले २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकाले अनुदान सम्झौता गर्ने समयसीमा २०७६ असार २१ गतेसम्म समयसिमा तोकेको थियो ।

साथै अनुदान सम्झौता गरेकाले पहिलो किस्ता लिने समयसीमा २०७६ असार मसान्तसम्म तोकेको थियो । प्राधिकरणले समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको सबै काम स्थगित गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको जनाएको छ । प्राधिकरणले यसरी अनुदान सम्झौता गर्न र पहिलो किस्ता लिन नआएकालाई सुनुवाइको विकल्प भने दिएको छ । जसअनुसार अनुदान सम्झौता गर्न छुटेका र पहिलो किस्ता लिन नआएका मध्ये चित्त नबुझ्नेले पर्याप्त कारणसहित स्थानीय तहमा निवेदन दिन सक्नेछन् । प्राप्त निवेदनको विश्लेषण गरी प्राधिकरणले आवश्यक निर्णय लिने सहप्रवक्ता घिमिरेले बताउनुभयो ।

गुनासो दर्ता गरेका, जोखिममा परेका लगायतबाट २०७६ जेठ मसान्तपछि पुनःनिर्माण लाभग्राहीमा सूचीकृत भएकाको हकमा भने अनुदान सम्झौता गर्ने र पहिलो किस्ता दिने कामलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ । प्राधिकरणले समयमा अनुदान सम्झौता गर्न र अनुदान किस्ता लिएर तोकिएको समयमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्न आग्रह गर्दै आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।