बिहिबार, बैशाख १३, २०८१

छाउनीस्थित १५ रोपनी जग्गा र घर प्रेरणाको दाइजो कि नेपाल ट्रष्टको ?

प्रस्तुत सम्पति विवादमा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौ असार २० ,सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरजबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलाशले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित दाइजो दाबी गरेको सम्पत्ति सम्बन्धी मुद्दामा आवश्यक मिसिल झिकाउने आदेश दिएको छ ।

प्रेरणाले छाउनीस्थित १५ रोपनी जग्गा र घर दाइजोमा आएको भन्दै पहिलो पटक २०७१ साल माघ २५ सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र तत्कालीन न्यायाधीश जबराको संयुक्त इजलासले प्रेरणाको दाइजो ठहर गर्दै फैसला गरेसैगै नेपाल ट्रष्टको कार्यालयले उक्त फैसलाको चित्त नबुझेपछि पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।

तर उक्त पुनरावलोकन निवेदनको सुनवाइ गर्दै तत्कालीन प्रन्या सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्की र सपना मल्ल प्रधानको इजलासले पूर्व राजा वीरेन्द्र शाहको परिवारको सम्पत्ति भएको उल्लेख गर्दै सो सम्पति नेपाल ट्रष्टको भएको फैसला गरेपछि पछिल्लो समय

पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले फैसलाप्रति विमति सहित नेपाल ट्रष्टको भनिएको सम्पति आफ्नो दाइजो भएको दाबी गर्दै सर्वोच्चमा पुनः अर्को पुनरावलोकन निवेदन दायर गर्नुभएको थियो । अदालतले विपक्षीलाई आवश्यक कागजात झिकाउन आदेश दिएपछि त्यस विषयमा पुनः सुनुवाइ हुने भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।