बुधबार, बैशाख १२, २०८१

आगामी ३ दिनसम्म देशैभर अविरल र निरन्तर वर्षा

काठमाडौं असार २७, मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी ३ दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज जारी मौसम बुलेटिनमा मनसुन ३ दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको हो ।

आज बिहानैदेखि मुलुकभर अविरल मनसुनी वर्षा भइरहेको जनाउँदै यसवीचमा खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरूमा भारी वर्षा हुने जनाएको छ । त्यस्तै देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने बुलेटिनमा उल्लेख गरेको छ ।

त्यसैगरी बुलेटिनमा शनिबार पनि देशको पूूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा अति भारी वर्षाको संभावना औल्याउँदै यसवीचमा देशको केही स्थानमा हावाहुरीको समेत प्रवल सम्भावना रहेको जनाएको छ ।

अविरल वर्षाकै कारण देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले उच्च सतर्क रहन अनुरोध गर्दै महाशाखाले पछिल्लो वर्षा मापन रेकर्ड अनुसार काठमाडौमा ५१ मिलिमिटर वर्षा भएको जनाएको छ । निरन्तरको वर्षाले देशका मुख्य नदी तटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।