बिहिबार, बैशाख १३, २०८१

८५ लाख भ्रष्टाचार गरेको अभियोगमा आयोजना प्रमुखसहित पाँच विरुद्ध मुद्दा दायर

काठमाडौ जेठ २७,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही र रौतहटमा भारतीय सहयोगमा निर्माण भएको वाग्मती नदी नियन्त्रण आयोजनाको काममा जल उत्पन्न प्रकोप नियन्त्रण विभागका तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले विभागका उपमहानिर्देशक खोमराज दाहाल र सोही कार्यालयका कर्मचारीले ठेकेदारसँग मिलेमतो गरी ठेकेदारलाई फाइदा हुने गरी काम गरी रु ८५ लाख ९० हजार ६२० बराबरको भ्रष्टाचार गरेको अनुसन्धानमा पाइएको जनाईएको छ ।

यसरी मुद्धा दायर गरिएकहरुमा विभागका तत्कालीन प्रमुख हीरानन्द झा, तत्कालीन लेखापाल अरुणकुमार राई, एमके निर्माण बज्रगुरु–दि कञ्चनजङ्घा जेभीका प्रबन्ध निर्देशक तेण्डी शेर्पा, सोही कम्पनीका कार्यकारी निर्देशक जीवन थापा र अध्यक्ष रेवन्तकुमार बस्नेत रहेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै बाँके राप्तीसोनारी गाउँपालिका–१ लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनालले सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी सहज तवरले काठ उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग रु पाँच लाख बराबर घुस माग गरेको आरोपमा आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उक्त वन उपभोक्ता समितिका अध्यक्ष कामी र कोषाध्यक्ष खुनालले साल, सिसौलगायतका काठ र दाउरा लिलाम बिक्रीका लागि भएको बोलपत्र फर्म दर्ता गरिदिने र बोलपत्रसमेत पारिदिने भनी घुस माग गरेको पाइएको जनाएको छ ।

यसैवीच आयोगले रुपन्देही जिल्ला अदालत बाल इजलाशमा कार्यरत बालमनोविज्ञ शान्तिदेवी अधिकारीले बालमनोविज्ञान प्रतिवेदन सरलरुपमा तयार पारिदिइ छिटो पेशी गराइदिन्छु भनी सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।