बिहिबार, बैशाख १३, २०८१

विश्वव्यापी मान्यताविपरितका मिडिया विधेयक विरुद्ध महासङ्घ तेस्रो चरणको आन्दोलनमा

आन्दोलनका कार्यक्रममा हस्ताक्षर संकलन देखि  देशव्यापी सिटी  र लालटिन जुलुससम्म

काठमाडौ जेठ २८,  सरकारले संसद्मा दर्ता गराएको मिडिया विधेयक विरुद्ध आन्दोलित नेपाल पत्रकार महासङ्घले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले मिडिया काउन्सिल विधेयक नेपालको संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रता र यसको विश्वव्यापी मान्यताविपरित ल्याईएको  भन्दै  असार ३ गतेदेखि   प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म थप शसक्त आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

 विगत ६ दशकदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्षरत् महासंघ कुनै पनि पक्षको अभिष्ट पूरा गर्ने आन्दोलनको पक्षमा नभएको र संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ रहेको स्पष्ट पार्दै नेपाली प्रेस जगतका जायज मागहरु अघि सारेर आन्दोलित नेपाल पत्रकार महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेकोमा बैठकले दुःख प्रकट गर्दै विशुद्ध पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिनु र विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपत्तिजनक भएको भन्दै महासंघले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन सरकारसंग जोडदार माग गरेको छ ।

आन्दोलनका कार्यक्रम :

महासंघद्दारा घोषीत आन्दोलनका कार्यक्रम अन्र्तगत असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर सङ्कलन अभियान गर्ने, असार ६ गते सङ्कलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने, त्यस्तै असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध कार्टुन प्रदर्शनी गर्ने, असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वाचित सङ्घीय र प्रदेश सांसदलाई सन्देश पठाएर ध्यानाकर्षण गराउँने कार्यक्रम तय गरेको छ । यस्तै असार २० गते वृहत ‘प्रेस स्वतन्त्रता सभा’को आयोजना गर्ने, असार २५ गते मध्यान्ह् १२ः०० बजे लालटिन जुलुस र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम सर्वजनिक गरेको छ ।

साथै तेस्रो चरणको आन्दोलनमा सक्रिय सहभागिता जनाउन महासंघ आमसञ्चारकर्मी, सञ्चार सम्बद्ध संघ–संगठन, पेशाकर्मी, नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुमा हार्दिक आहृवान गर्दै पहिलो र दोस्रो चरणको आन्दोलन सफल बनाउन सक्रिय सहभागिता जनाउने सबैमा महासंघ हार्दिक आभार प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।