बुधबार, बैशाख १२, २०८१

श्रम क्षेत्र सुधारका दिशामा सरोकार पक्ष केन्द्रित हुने राष्ट्रपतिको विश्वास

  •  श्रमजीवी वर्गको उत्थानका लागि सबैले काम गर्न पाउने अवस्थाको सुनिश्चितता गरिनुपर्नेमा उपराष्ट्रपति पुनको जोड
  • सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न प्रतिबद्ध : प्रम ओली

काठमाडौ बैशाख १८ , १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नु भएको शुभकामना सन्देशमा सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्पलाई सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकार पक्ष केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले आफ्नो शुभकामना सन्देशमा नेपालको संवैधानिक प्रावधान र भावनानुसार श्रमिकका हितमा काम हुनाका साथै योगदानमा आधारित सामाजिक सुरक्षा, नयाँ श्रम ऐन र रोजगारीको हकसम्बन्धी ऐनको कार्यान्वयन भई नेपाली मजदुरको अवस्थामा महत्वपूर्ण सुधार आउने उल्लेख गर्नुभएको छ ।

साथै मजदुर दिवससँगै श्रमिकको हितअनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित हुन सकून् भनी कामना सहित दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास अभिव्यक्त गर्दै सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने बताउँनु भएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल, सुखी नेपाली’ अभियानका लागि सबै श्रमजीवी वर्ग समृद्ध, सुखी र खुशी हुनुपर्नेमा जोड दिदै नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको बताउँनु भएको छ । साथै उहाँले श्रमजीवी वर्गको उत्थानका लागि सबैले काम गर्न पाउने अवस्थाको सुनिश्चितता गरिनुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीले पनि दिवसको अवसरमा जारी गनुृ भएको शुभकामना सन्देशमा सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको बताउँदै नुभएको छ ।  साथै उहाँले न्यूनतम रोजगारी पनि प्रदान गर्न नसकिएको खण्डमा नेपाल सरकारले हरेक बेरोजगार परिवारका लागि एक जना श्रमिकलाई १०० दिन काम गर्दा प्राप्त हुने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्नसमेत कार्य प्रारम्भ भइसकेको बताउँँदै सरकारले गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमसमेत शुभारम्भ गरिसकेको र श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास एवं श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्दै श्रम सम्बन्धलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।