शुक्रबार, चैत्र १६, २०८०

कलङ्की मालपोतका अधिकृत रिमाललगायत सात जना विरुद्ध मुद्धा दायर

दुई करोड २१ लाख भ्रष्टाचारको अभियोग 

काठमाडौ जेठ १३,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कलङ्कीका मालपोत अधिकृत शिवप्रसाद रिमाललगायत सात जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी जग्गा निजी कम्पनीका नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत अधिकृत सहित सात जना विरुद्ध दुई करोड २१ लाख भ्रष्टाचार गरेको अभियोग सहित आज मुद्दा दर्ता गरेको हो ।

आयोगका अनुसार मालपोत अधिकृत रिमाल सहितको मिलोमतोमा चन्द्रागिरि नगरपालिकामा पर्ने पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा ‘सुयल हाउजिङ कम्पनी’का नाममा दर्ता गरी सरकारी सम्पत्तिको दुरुपयोग गरेको अनुसन्भानको क्रममा पाइएको जनाउँदै आयोगले कार्यमा संलग्न नायब सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मिनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनीको वारेस दीपेन्द्र विक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेल विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच आयोगले सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मिया श्रेष्ठ विरुद्ध २५ हजार घूस लिएको अभियोग, नागरिकताको प्रमाणपत्र बनाउन सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु ४ हजार घूस लिन इलाका प्रशासन कार्यालय महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंह, सेवाग्राहीसँग रु २० हजार घूस लिएको अभियोगमा नापी कार्यालय नवलपरासीमा कार्यरत नापी सर्वेक्षक छत्रबहादुर ठकुल्ला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
त्यस्तै रु ३० हजार घूस लिएको अभियोगमा नापी कार्यालय लगनखेल ललितपुरमा कार्यरत नापी सर्वेक्षक उपेन्द्रप्रसाद यादवलाई पक्राउ गरिएको छ जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।