शनिबार, बैशाख ८, २०८१

सडक स्तरोन्नति ठेक्कामा तत्कालीन कार्यालय प्रमुख गिरीसहित ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौ चैत २६,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन कार्यालय प्रमुख लालु गिरीसहित ७ जनाविरुद्ध आज मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा भोजपुर–टक्सार कोट गगने सडक स्तरोन्नति गर्ने ठेक्कामा निर्माण व्यवसायीलाई नक्कली बैंक ग्यारेण्टी पेश गरी भुक्तानी दिएको आरोपमा तत्कालीन कार्यालय प्रमुख गिरीविरुद्ध रु एक करोड १० लाख ८० हजार बराबरको भ्रष्टाचार गरेको आरोप मुद्धा दायर गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा लेखापाल रामबहादुर दाहाल, तत्कालीन शाखा अधिकृत छविलाल ढकाल, एमके निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक माधवप्रसाद खनाल , वाईपी कन्स्ट्रक्सनका राजु श्रेष्ठउपर समेत रु एक करोड १० लाख ८० हजार बराबरकै भ्रष्टाचार मुद्धा र एमकेवाईपी जेभीका आधिकारीक प्रतिनिधि रणधीर तुम्बाविरुद्ध रु ५५ लाख ३० हजार र देवजङ शाहीविरुद्ध रु पाँच लाख ५५ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग सहित मुद्धा दायर गरेको उल्लेख गरिएको छ ।

यसैवीच आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी अर्को विज्ञप्तिमा सेवाग्राहीसँग रु २० हजार घुस मागेको अभियोगमा केही दिन अघिे पक्राउ परेका ललितपुर महानगरपालिकाको कार्यालय नक्शा शाखाका अमिन वीरेन्द्रबहादुर चन्द र पोखरा महानगरपालिका कार्यालयका नक्शा शाखामा कार्यरत कार्यालय सहयोगी भीमराज शाहीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको उल्लेख गरिएको छ भने  सवारी चालक अनुमतिपत्र मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस माग्ने विचौलिया सराफ शेखलाई रु १७ हजारसहित आज पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।