शनिबार, बैशाख ८, २०८१

आज चैते दशैं र रामनवमी पर्व मनाईंदै

काठमाडौं चैत ३० ,  आज चैत्राष्टमी अर्थात चैते दशैं देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाईंदैछ । यस अवसरमा काठमाडौ सहित बिभिन्न ठाउँका शक्तिपीठ तथा मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।  चैते दशैंको अवसर पारेर सोमबार भगवतीका मन्दिरहरुमा पूजापाठका साथ पशुबलि चढाउने चलन छ । वर्षको दुईपटक चैत र आश्विनमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको हिन्दु धर्मशास्त्रमा उल्लेख छ । त्यस्तैगरि आजका दिन हनुमानढोका दरबारस्थित मूलचोकमा यसै रात ५४ राँगा र ५४ बोकाको बलि दिने चलन छ ।

यसैवीच आज रामनवमी पर्व पनि मनाइदैछ । हरेक वर्षको चैत शुक्ल नवमीको अवसरमा यो पर्व श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा–आराधना गरी मनाइन्छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो पर्व  मनाउने   गरिन्छ । त्यस्तै असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरमा पूजापाठ गरिँदै छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।

यसैबीच आज जनकपुरको रामजानकीसहित देशभरका राम मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड लागेको छ । राम जानकी मन्दिरमा नेपाल र भारतका श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । रामनवमी पर्वको अवसरमा जनकपुरको गंगा सागर, धनुसागर, अर्गज्जा पोखरीमा स्नान गरी राम जानकी मन्दिरमा पूजा पाठ गरे पारिवारिक सुख शान्तिका साथै हरेक प्रकारका दुखबाट मुक्ति हुने जनविश्वास रही आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।