बिहिबार, चैत्र १५, २०८०

शहीदका गाथा

काठमाडौं चैत ७,                                                               -वैरागी जेठा-

दमन अघि अघि दगुरिरहेछ
शहीदहरु बलिरहेछन्
लडाईका कुण्डमा
जाई बेलीहरु ,चमेलीसँगै रोइरहेछन्
वस्तीहरुका आँगनमा
भोकको डँढेलो फैलिरहेछ
च्याड.बाका आकाशमा
युद्ध भोग्दै गरेका जीवनहरु
ज्युँदै मरिरहेछन्, एउटा दुर्गम गाउँमा
मान्छे हुन् या पशु
मसँगै उभिएको बाँदरलाई
स्वयम्भूका आँखा लगाएर हेर्छु
बाँदर भन्दा पनि बेमान मान्छे देख्छु
व्युँझिरहेका काँठहरु
आजादीका गीतहरु गाउँन छोडेका छन्
काँठमा ठडिएका ,कंक्रिटका जंगलहरु
पिलो पाकेझैँ लाग्छन्
मेरो नरेशलाई देखेर
ऊ आजकल कविता लेख्न सक्दैन
ओछ्यानसँग युद्ध लडिरहेछ
लिलाले सम्बोधन गरिरहन्थीन्
तर सम्बोधन गर्ने कोही छैन
रानीवनका मैनाहरु
चुपचाप छन् ,उसँग बोल्ने कोही छैन
मुक्तिको गीत गाउँदा गाउँदै
ऊ पागल भयो ।
साथीभाइहरुले छाडेको पनि कयौँ वर्ष भइसकेको छ
खुमलटारबाट गोलढुंगा बसाइसरे पछि
घरभित्रका मान्छे पनि आउँन छोडेका छन्
यति बेला ऊ
ओछ्यानलाई नै स्पाती मैदान ठानीरहेछ
एउटा घर ! आशा लाग्दो घर
माटोको घैँटोझै फुटेको छ
आफूसँगै चोइटिएको टुक्रालाई
आतड.कवाद भनेर गिल्ला गरिरहेछ
शहीदका सपनाहरु पिएर
आफ्नै छातीमा मार्चपास गरिरहेछन्
कवि नरेश !
आजकल कविता लेख्न सक्दैन
भुँइचालाले हल्लाएको जमिन जस्तै
उसका शरिरहरु हल्लिन्छन्
हृदयमा ज्वारभाटा सल्किन्छ
कतै म वैरी हुन्छु होला
साथीहरुले दुश्मन ठानेर कैदी गर्ने छन्
शहीदका गाथाको संगीत बजाउँदा
हामीले अनुशासन गुमायौ भने
घर ध्यस्त हुनेछ
मेरो घर अंशवण्डा नहोस्
अँधेरो नहोस् हाम्रो घर
आमालाई कुनै छोराहरुले
कैल्यै वलत्कार नगरुन्
मलाई बाँचेर कविता लेख्न देऊ !
मेरा ,हाम्रा शासकहरु !
भयानक स्वरहरुमा , श्यामहरु नपड्किऊन् !

प्रस्तुत कविता विश्व कविता दिवसका अवसमार आज राजधानीमा आयोजित कविता गोष्ठीमा कवि जेठाले वाचन गर्नु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।