शुक्रबार, चैत्र १६, २०८०

मिडिया कप फुटसलको उपाधी प्रेस संगठन नेपाललाई

 काठमाडौं चैत १५,   नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको “मिडिया कप फुटसल प्रतियोगिता २०७५” को उपाधि प्रेस संगठन नेपालले जितेको छ । नेपाल प्रेस यूनियन र प्रेस संगठन नेपाल बिच उपाधिका लागि भएको फाइनल प्रतिष्पर्धामा प्रेस संगठन नेपालले ६ –१ को गोल अन्तरले प्रतियोगिताको उपाधि हात पारेको हो ।

विजेता र उपविजेता टिमलाई महासंघका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा विजेताले दशहजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । उपविजेताले सातहजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल इमेज च्यानलले पाँचहजार नगद , ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । नगद र प्रमाणपत्र महासंघको स्थापना दिवस चैत १६ गते महासंघमै आयोजना हुने विशेष कार्यक्रममा वितरण गरिने महासंघका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताउनुभयो ।

प्रतियोगितामा १३ गोल गर्दै उच्च गोल कर्ता प्रेस संगठन नेपालका खेलाडि दिपेन्द्र गुरुङ्ग बेस्ट स्कोररको विजेता बने । त्यसैगरी प्रतियोगिताकै बेस्ट प्लेयर नेपाल प्रेस यूनियनका खेलाडी निशान राई घोषित भए ।  चैत १४ र १५ गते शान्तिनगर फुटसल, ओम शान्तीचोकमा खेलाइएको प्रतियोगितामा सञ्चार क्षेत्रसंग सम्बन्धी विभिन्न एघार संघसस्थाका टोलीले भाग लिएका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (बी), सूचना विभाग, प्रेस काउन्सिल नेपाल , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (ए) , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (बी) , इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल, नेपाल पत्रकार मञ्च लगायतले भाग लिएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।