शनिबार, बैशाख ८, २०८१

महासंघले ६४ औं स्थापना दिवस ३ दिने कार्यक्रम सहित मनाउँदै

काठमाडौं चैत ४, नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको आज बसेको बैठकले आगामी चैत्र १६ गते महासंघको ६४ औं स्थापना दिवस विविध मौलिक तथा रचनात्मक कार्यक्रमको आयोजना सहित मनाउँन महासंघका सबै प्रदेश, शाखा र एशोसिएट समितिलाई निर्देश सर्कुलर गरिएको छ ।

त्यस्तै स्थापना दिवसका अवसरमा केन्द्रीय समितिद्दारा ३ दिने अर्थात  चैत्र १३ देखि १६ गतेसम्म महासंघका पूर्व पदाधिकारी सम्मान, शाखा सम्मान, जोखिम, संकट तथा कठिन अवस्थाको रिपोटिङ अनुभवको प्रस्तुतिकरण प्रतियोगितासंगै , पूर्व सभापतिसँग अन्तरसंवाद, मैत्रीपूर्ण फूटसल लगायत निशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यस्तै महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आगामी मे २ र ३ तारिखमा महासंघले महासंघले हालसम्म घोषणा गरेका प्रेस स्वतन्त्रता सेनानीहरु तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागितामा राष्ट्रिय प्रेस स्वतन्त्रता सम्मेलन आयोजना गर्ने निर्णय समेत गरिएको उल्लेख गर्दै सम्मेलनमा सबै प्रेस स्वतन्त्रता सेनानीलाई परिचयपत्र र लोगो प्रदान गरिनुका साथै प्रेस स्वतन्त्रता सेनानी सम्मान समेत गरिने जनाएको छ ।

त्यस्तै महासंघको गत फागुन ९ र १० गते कास्कीको पोखरामा आयोजित केन्द्रीय साधारणसभा ऐतिहासिक रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने तथा साधारणसभामा सहभागी सबैमा केन्द्रीय समितिका तर्फवाट धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्दै केन्द्रीय साधारणसभाबाट पारित निर्णय, निर्देशन तथा विशेष प्रस्ताव कार्यान्वयनका लागि विस्तृत कार्ययोजना सहित आवश्यक पहल गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।