शुक्रबार, चैत्र १६, २०८०

अकूत सम्पत्ति आर्जन गर्ने कर अधिकृत विक विरुद्ध मुद्दा दायर

वैरोका नासु घुससहित पक्राउ

काठमाडौं चैत ८ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी लाभको पदमा रही अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा आरोपमा करदाता सेवा कार्यालय पाँचथरका कर अधिकृत मानबहादुर विक दम्पती विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कर अधिकृत विकले आर्जन गरेको सम्पत्ति छानविनको क्रममा निजले आर्जनको सम्पतिको स्रोत पुष्टि नभएको जनाउँदै विक र निजकी श्रीमती समेतको विरुद्धमा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

विसं २०६८ असोज २२ गते नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्ति भइ विक सो नियुक्तिपूर्व २०६६ साल चैत १० गतेदेखि २०६८ साल असोज २१ गतेसम्म रोल्पास्थित श्रीकृष्ण माविमा राहत शिक्षकका रुपमा कार्यरत रहदै अधिकृत तहको नियुक्तिपछि गत मङ्सिर मसान्तसम्मको अवधिमा निजको आयव्यय तथा सिर्जित सम्पत्तिमाथि अनुसन्धान गर्दा निजले तलबभत्ता, प्रोत्साहन भत्ता, श्रीमती आइतमाली विकको पारिश्रमिक आय, जग्गा बिक्री, व्यवसाय आय एवं कर्जालगायतबाट निजले कूल रु एक करोड २७ लाख ६६ हजार ९४५ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार कर अधिकृत विकको वैध आय रु १ करोड २७ लाख ६६ हजार ९४५ को तुलनामा स्रोत खुल्न नसकेको रु १ करोड ८२ लाख ६७ हजार ७७९ को स्रोत पुष्टि हसन नसको जनाउँदै निजले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर सहित आयोगले स्रोत पुष्टि गर्न नसकेको सोही रकम बराबर बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ ।

यसैवीच आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ ।

वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाएर डरधम्की देखाई सेवाग्राहीसँग नासु फुयाँलले घुस मागेको आरोप लगाएको छ ।

त्यस्तै आयोगद्दारा जारी विज्ञप्तिमा नासु फुयाँलले सेवाग्राहीसँग लिएको रु ६० हजार जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिई केही समयपछि उनै खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा उनीहरु दुवै जनालाई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित सापकोटा मिठाइ भण्डारबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।