शुक्रबार, चैत्र १६, २०८०

बौद्धनाथ स्तुपामा ठोकिएका किला र तारहरु हटाइयो

अनुप प्रधान / काठमाडौं पुस २०,  बौद्ध स्तुपा झिलिमिली पार्न किला गाडेर टाँगिएको तार र बत्ती बिहीबार निकालिएको छ । सम्पदा संरक्षणकर्मीले चलाएको पेन्चिस अभियान अन्तर्गत स्तुपामा ठोकिएको किला र टाँगिएको तारहरु निकालिएको हो ।

पूरातात्विक महत्वको वौद्धनाथ स्तुपालाई झिलिमिली पार्न भनी वौद्ध घ्याङ गुठीले केही समयअघि स्तुपामा किला ठोकेर बत्ती र तार टाँगेको थियो । तर यसरी किला ठोक्दा पूरातात्विक महत्वको सम्पदा बिग्रने बताएपछि गुठीले आफै बत्ती र किला हटाएको सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले बताए ।

‘सबैको उद्देश्य संरक्षण गर्ने नै रहेको तर तरिका नमिलेका कारण विगतमा यस्ता घटना भए पनि अब नहुने विषयमा हामी सबै सहमत भयौं’ उनले भने । किला र तार हटाउन काठमाडौं क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र महानगरपालिका ६ का वडाअध्यक्ष दीपेन्द्र लामासहित संरक्षणकर्मीहरु सहभागी भएका थिए । बत्ती र किला हटाएपछि अब वौद्धस्तुपामा पूरातत्व विभागले त्यसको मर्मतसम्भार गर्ने सहमति भएको श्रेष्ठले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।