शनिबार, बैशाख ८, २०८१

डा केसीको समर्थनमा बिहिबार लोकतन्त्रवादी पेशागत संघसंगठनको बृहत प्रदर्शन

(फाइल फोटो)

प्रदर्शन केसीको मागमा ऐक्यबद्धता सहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, बढ्दो हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्धामा केन्द्रित रहने

काठमाडौं माघ १६,  लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन ।

 राजधानीमा भएको पेशागत संगठनका बुद्धिजीविहरुको भेलाले डा केसीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेका हुन ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले १ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु हुने र बानेश्वरमा पुगेर कोणसभामा परिणत हुने जानकारी दिए । उनका अनुसार प्रदर्शन केसीको मागमा ऐक्यबद्धता सहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, बढ्दो हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्धामा केन्द्रित रहने छ । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदर्शनमा लोकतन्त्रवादी सबै पेशागत संघ संगठनको सहभागीता रहने जानकारी दिए ।

बुधबारको भेलामा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केसी सहित, सेन्टर फर डेमोक्रेटिक इन्जिनियरर्सका अध्यक्ष लक्ष्मण केसी, प्रेस युनियन महासचिव शिवाकोटी, डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष योगेन्द्र अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल, डेमोक्रेटिक एग्रिकल्चर एसोसियसनका अध्यक्ष सुर्य पौडेल, त्रिवी प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष भोला सिग्देल, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना सहितका बुद्धिजीविहरु सहभागी थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।