शुक्रबार, चैत्र १६, २०८०

गैरकानुनीरुपमा सम्पत्ति आर्जन गर्ने भ्रष्टाचारी सहसचिव श्रेष्ठ विरुद्ध मुदा दायर

काठमाडौं पुस २५ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक एवम हाल वन तथा वातावरणमा मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रमान श्रेष्ठ विरुद्ध आज मुद्धा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी स्रोत नखुलेको अकुट सम्पत्ति जम्मा पारेको अभियोगमा मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा श्रेष्ठको छानबिन गर्दा श्रेष्ठले आर्जन गरेको रु दुई करोड १० लाख ७७ हजार चार बराबरको आय–आर्जन मध्ये रु १ करोड ३४ लाख ५७६ बराबरको सम्पत्ति अवैध रहेको अनुसन्धानकाक्रममा पाईएको जनाउँदै निज तथा निजको परिवारका सदस्यको चलरअचल सम्पत्ति तथा सवारी खरिद, सेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैंक मौज्दातलगायतका शीर्षकमासमेत गरी रु तीन करोड ४४ लाख ७७ हजार ५८० बराबरको खर्च गरेको उलेख गरिएको छ ।

त्यस्तै आयोगले सहसचिव श्रेष्ठले राष्ट्रसेवक भएपश्चात के–कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै बिगो असुलउपर गरी कैद सजायकोसमेत माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।